कोल्टीमा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन सुरु भएपछि स्थानीय खुशी
बाजुरा । बाजुराको पूर्वोत्तरी क्षेत्र कोल्टी बाट राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन कार्य सुरु गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाजुरा द्वारा त्यहाँ स्थित ४ वटा स्थानीय तहका नागरिकहरूको सहजताका लागि सेवा सुरु गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बर्षातमा राष्ट्रिय परिचयपत्र बनाउनकै लागि त्यहाँका नागरिकहरूको समस्यालाई मध्यनजर गर्दै कोल्टी बाटै उक्त सेवा सुरु गरिएको बताउनुभयो । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट बाजुराका लागि थप भएको स्टेशन कोल्टीमा राखेर करिब एक महिनाका लागि सेवा प्रवाह सुरु गरिएको प्रमुख जिल्ला अधिकारी पाध्याको भनाइ छ।

उक्त सेवाको आइतबार प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या, सहायक प्रमुख जिल्ला अधिकारी शीतल बहादुर रावल, हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्ल, स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत बहादुर रोकाया, लगायत जिल्ला स्थित सुरक्षा निकाय प्रमुखहरूको सहभागितामा औपचारिक रुपमा शुभारम्भ गरिएको छ ।
यसअघि राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनको स्टेशन जिल्ला प्रशासन कार्यालयमा मात्रै रहेकाले सेवाग्राहीले लामो समय लाइनमा बसेर परिचय पत्र प्राप्त गर्नुपर्ने स्थिति थियो । जिल्लाको पूर्वीउत्तरी भेगका ४ पालिकाको केन्द्र मानिएको कोल्टीमा परिचयपत्रको विवरण सङ्कलन कार्य सुरु भएसँगै स्थानीय नागरिक खुशी भएका छन्।
प्रतिक्रिया राख्नुहोस्