तपाईँ सुन्दै हुनुहुन्छः

धर्म र संस्कृतिको संरक्षण सबैको साझा जिम्मेवारी : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धर्म र संस्कृतिमा विचलन आए विकृति र विसङ्गति भित्रने भएकाले यस प्रकारका प्रवृत्तिको अन्त्य सबैको साझा जिम्मेवारी रहेको बताउनुभएको छ ।

हरितालिका तीज पर्वको पूर्व सन्ध्यामा बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी)ले आयोजना गरेको तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री आचार्यले पुर्खाले जसरी पर्वहरू मनाउँदै आएका थिए, त्यसैगरी वर्तमान समयमा पनि अगाडि बढाउनुपर्ने बताउनुभयो ।

“धर्म र संस्कृतिले समाज परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् । व्यक्तिलाई अनुशासनमा राख्न पनि यसको विशेष योगदान छ । धर्म र संस्कृतिमा विचलन आए विकृति र विसङ्गति भित्रन्छ । त्यसैले यसको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्नु सबैको साझा जिम्मेवारी हो ।”, उहाँले भन्नुभयो ।

अहिले तीजलाई विभिन्न नाममा विकृत बनाउने काम भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले यस्तो प्रवृत्ति संस्कृतिमाथि धावा बोल्ने कार्य भएको बताउनुभयो । 

कार्यक्रममा प्रमुख सचिव बाबुराम अधिकारीले चाडपर्वले सामाजिक मूल्य–मान्यतालाई जीवन्त राख्न मद्दत गर्ने भएकाले संस्कृतिको वास्तविक मर्म जोगाउनु जरुरी रहेको बताउनुभयो ।

प्रदेश सचिव ईश्वरराज पौडेलले राज्यको समावेशी नीतिका कारण निजामती सेवामा महिला कर्मचारीहरूको उल्लेख्य सहभागिता बढेको बताउनुभयो ।

स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले तीजलाई ऊर्जाशील पर्वको रुपमा लिने गरिएको उल्लेख  गर्नुहुँदै बताउनुभयो । “यस पर्वले मानसिक स्वास्थ्यलाई टेवा पुर्‍याउँछ । तीजले ऊर्जाशील विचार ल्याउँछ । सांस्कृतिक र सामाजिक क्रियाकलापले पुस्तान्तरणमा सहयोग गर्छ । आत्मीय भावनाको विकास गराउँछ ।”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button