तपाईँ सुन्दै हुनुहुन्छः

संचारग्राम प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय

विराटनगर । तारिणीप्रसाद कोइराला स्मृति संचारग्रामलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय गरिएको छ। सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा. महेन्द्र विष्टको अध्यक्षतामा आइतबार विराटनगरमा बसेको संचारग्राम सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।

बैठकले संचारग्रामले प्रयोग गर्दै आएको जग्गा र भवनलाई विराटनगर महानगरपालिका र संचारग्रामले संयुक्त रूपमा प्रक्रिया अघि बढाई हस्तान्तरण गर्ने निर्णय पनि गरेको छ। बैठकमा महानगर प्रमुख नागेश कोइरालाले संचारग्रामको महत्व उल्लेख गर्नुहुँदै यसको सही उपयोग हुनुपर्नेमा जोड दिनुभयो।

अध्यक्ष डा. विष्टले जग्गा र भवनको स्वामित्व नहुँदा आवश्यक कार्य सम्पन्न गर्न कठिनाइ भएको बताउनुभयो। उहाँले संचारग्राममा गीत–संगीतसँगै संग्रहालय र पुस्तकालय सञ्चालनमा रहेको उल्लेख गर्नुहुँदै यसको उपयोग गर्न आग्रह गर्नुभयो।

बैठकमा उप–प्रमुख शिल्पा निराला कार्की, प्रमुख प्रशासनिक अधिकृत रामप्रसाद ढुंगाना, संचारग्राम प्रमुख सूर्यनारायण लाल कर्णलगायतको उपस्थिति थियो। यसैदिन अध्यक्ष डा. विष्टले संचारग्रामका कर्मचारीहरूसँग छलफल गरी महानगर एफएम विराटनगर र रेडियो नेपालका सेवालाई थप प्रभावकारी बनाउने विषयमा सुझाव लिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button