तपाईँ सुन्दै हुनुहुन्छः

हुम्ला–मुगु लिङ्क रोड अन्तर्गत लोतीखोला बेलिब्रिज पूर्वमुख्यमन्त्री शाहीद्वारा औपचारिक रूपमा उद्घाटन

हुम्ला। हुम्ला–मुगु लिङ्क रोड अन्तर्गत लोती कर्णाली नदीमा निर्माण गरिएको बेलिब्रिज औपचारिक रूपमा सञ्चालनमा आएको छ। चङ्खेली गाउँपालिका–२ र ४ को सिमानामा रहेको उक्त पुल पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले मंगलबार उद्घाटन गर्नुभयो।

जिल्ला सदरमुकामबाट हेलिकप्टरमार्फत चङ्खेली पुगेर उद्घाटन गर्नुभएका पूर्वमुख्यमन्त्री शाहीले भौतिक पूर्वाधारका काममा ढिलाइ हुनुमा जनताले सही नेतृत्व दिन नसकेको पनि टिप्पणी गर्नुभयो। “आजभन्दा दुई वर्षअघि नै पुल सम्पन्न हुनु पर्ने थियो, तर तत्कालीन सरकारले प्राथमिकता नदिएकै कारण ढिलाइ भयो,” उहाँले भन्नुभयो, “अब म फेरि मुख्यमन्त्री हुन्छु, बाँकी सडक निर्माणमा पनि प्राथमिकता दिइनेछ।”

उहाँले पुल निर्माणबाट क्षतिग्रस्त जमिनमा एक महिनाभित्र घेराबार गरिने निर्देशनसमेत पूर्वाधार विकास कार्यालयलाई दिनुभयो।

चङ्खेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीका अनुसार लोती बेलिब्रिज सञ्चालनमा आएपछि हुम्ला–मुगु सडक औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो। यसले मुगु, रारा, लिमि हुँदै कैलाशमानसरोवरसम्मको यात्रा सहज हुने बताइएको छ।

यसअघि नदीमा पुल नहुँदा तुइनको सहारामा यात्रा गर्नुपर्ने बाध्यता थियो। अब तुइन विस्थापित भएको छ।

पूर्वाधार विकास कार्यालयका प्रमुख नरेशराज जैसीका अनुसार पाँच महिनामा सम्पन्न भएको ४२ मिटर लम्बाइ, १० मिटर उचाइ र ३.१५ मिटर चौडाइको उक्त बेलिब्रिज निर्माणमा करिब ४ करोड ९८ लाख रुपैयाँ लागत लागेको हो।

बेलिब्रिज सञ्चालनमा आएपछि चङ्खेली गाउँपालिकालाई हिउँदमा हरेक वर्ष काठेपुल बनाउने बाध्यता हटेको छ। स्थानीय दन्त शाहीले यो पुलले न केवल गाउँपालिका, तर सिङ्गो हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने विकल्प प्रदान गरेको बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button