भ्रष्टाचार न्यूनीकरण, सुख्खापन, खानेपानी अभावलगायतका विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले भ्रष्टाचार न्यूनीकरण, तराई मधेसमा बढेको सुख्खापन, खानेपानी र सिँचाइको अभाव लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सांसदहरूले तराईमा सुख्खापन बढेर खानेपानीको मुहान सुकेको, सिँचाइ र मल खादको अभावमा समस्या बढ्दै गएकाले सुख्खा ग्रस्त क्षेत्रमा तत्काल राहतको प्रभावकारी कार्यक्रम ल्याउन माग गर्नुभयो ।
सांसदहरूले तराई मधेसमा आपत्कालीन खानेपानी, सिँचाइ र मल खादको व्यवस्था तथा सुख्खा ग्रस्त क्षेत्रमा बिजुलीको नियमितता साथै पीडितका लागि तत्कालीन र दीर्घकालीन राहतको व्यवस्था गर्न माग गर्नुभयो ।
सांसदहरूले गरिब किसान, दलित, मिटर व्याज पीडित, सहकारी पीडित लगायत सम्पूर्ण नागरिकका समस्या समाधानतर्फ सरकारको ध्यान जान नसकेको आरोप लगाउनुभयो ।
सांसदहरूले पछिल्लो समय भ्रष्टाचारका घटनाहरू बढ्दै गराएको र सरकारका मन्त्रीहरू नै घुस प्रकरणमा मुछिएर नाम सार्वजनिक हुँदा समेत पदमा बसिरहेको लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरूले बाढी पहिरो र सडक दुर्घटना बढी रहेको, रसुवा गढीमा बाढीमा फसेका सामान तत्काल नेपाल ल्याउने व्यवस्था गर्नुपर्ने, भेरी नदीमा टिपर खस्दा बेपत्ता भएकाहरूको तत्काल खोजी गर्नुपर्ने लयगतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरू ज्वालाकुमारी शाह, नारायणी शर्मा, प्रभु शाह, अमनलाल मोदी, अब्दुल खाँण, देवेन्द्र पौडेल, चित्रबहादुर केसी, वासुदेव घिमिरे, छिरिङ ल्हामु लामा, चन्द्रबहादुर विश्वकर्मा, देवप्रसाद तिमल्सेना, माधव सापकोटा, दामोदर पौडेल वैरागी र सूर्यबहादुर थापा क्षेत्रीले बैठकको आकस्मिक समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
यसैबिच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाको आजको बैठक पनि बहिस्कार गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्