तपाईँ सुन्दै हुनुहुन्छः

एमाले पोलिटब्यूरो बैठक: विधान संशोधन प्रस्ताव पारित

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पोलिटब्यूरो बैठकले विधान संशोधन प्रतिवेदन पारित गरेको छ ।

पार्टी मुख्यालय च्यासल, ललितपुरमा आज सम्पन्न चौथो पूर्ण बैठकले केन्द्रीय सचिवालय बैठकबाट पारित गरिएको विधान संशोधन प्रस्ताव प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

बैठकमा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रतिवेदन पेस गर्नुभएको थियो । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा विधान संशोधन प्रतिवेदनमा ६८ जना पोलिटब्यूरो सदस्यले आफ्नो राय राख्नु भएको प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो ।

विधानमा पार्टीभित्र सङ्गठित सदस्यता र पार्टी सदस्यता गरी दुई व्यवस्था राख्ने, ७० वर्षे उमेर हद र दुई कार्यकाल नेतृत्वमा रहने व्यवस्थालाई खारेज गर्ने प्रावधान राखिएको उहाँले जानकारी दिनुभयो । यस्तै, जिल्ला कमिटी कार्यकारी कमिटीकै रूपमा लैजाने विधानमा सहमति भएको छ ।

पूर्वराष्टपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण र पार्टीको सक्रिय राजनीतिमा आउने विषयमा पनि बैठकमा गम्भीरतापूर्वक छलफल भएको प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button