तपाईँ सुन्दै हुनुहुन्छः

इलाममा महिलालाई कुचो बनाउने तालिम, आयआर्जनमा टेवा

इलाम ।  इलामको प्रमुख नगदे बालीमध्ये अम्लिसोबाट उत्पादन हुने कुचोको माग बढेसँगै यहाँका महिलाले कुचो बनाउने तालीम लिएर स्वरोजगारको बाटो रोज्न थालेका छन्। अम्लिसोको फुलबाट बनाइने कुचो परम्परागत रूपमा प्रयोग हुँदै आएको छ, तर अहिले इलामका महिलाले त्यसलाई आयआर्जनको स्रोत बनाउँदै छन्।

सिमधारा महिला समूहले आयोजना गरेको तीन दिने तालिममा ३० जना महिलाले कच्चा पदार्थ छनौटदेखि डिजाइन र बजार व्यवस्थापनसम्मको सीप सिकेका छन्। तालिम टेवा काठमाडौँको आर्थिक सहयोग र सहयात्रा नेपाल इलामको समन्वयमा सम्पन्न भएको हो।

समूहकी अध्यक्ष शारदा सुब्बा र सचिव मुनु (खोमखुमारी)खवासका अनुसार महिलाले घरायसी कामसँगै कुचो बाँधेर बिक्री गर्न थालेका छन्। यसले महिलाहरूलाई सानोतिनो घर खर्च चलाउने आम्दानीको बाटो खोलिदिएको छ।

सामूहिक तरकारी खेतीमा पनि सक्रिय यो समूह महिलाको आर्थिक सशक्तीकरण र नेतृत्व विकासतर्फ अघि बढिरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button