चक्रपथ सडक विस्तारबारे समितिमा छलफल
काठमाडौँ। प्रतिनिधिसभाको पूर्वाधार विकास समितिमा काठमाडौँ चक्रपथ कलङ्की महाराजगञ्ज सडक खण्ड विस्तारको प्रगतिका सम्बन्धमा आज छलफल भएको छ ।

समितिको आज बसेको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले उक्त सडक खण्ड विस्तारको डिपिआर तयार भई काम अघि बढेको जानकारी गराउनुभयो ।
काठमाडौँ उपत्यकाको सवारी जाम कम गर्न सरकारले नयाँ विकल्पबारे छलफल गरिरहेको जानकारी गराउँदै मन्त्री दाहालले सडक स्तरोन्नति गर्दा निर्माण गर्न सकिने मात्रै भत्काउने नीति लिएको बताउनुभयो ।
सरकारले विकासमा अवरोध नहुने गरी नयाँ कानून तर्जुमा गर्न लागेको पनि मन्त्री दाहालले बैठकलाई जानकारी गराउनुभयो ।
बैठकमा मन्त्रालयका सचिव केशवकुमार शर्माले यो वर्ष मात्रै समयमै निर्माण सम्पन्न गर्न नसक्ने एक सय २० वटा ठेक्का सम्झौता तोडेको जानकारी दिनुभयो ।
बैठकमा सांसदहरु गोकर्ण विष्ट, प्रकाश ज्वाला, ठाकुर गैरे, सीता गुरुङ, माधव सापकोटालगायतले चक्रपथमा हुने धुलो तथा हिलोलाई व्यवस्थित गर्न खाल्टाखुल्टी पुर्नुपर्ने, चक्रपथको सडक विस्तारलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभयो ।
समितिको बैठकले काठमाडौँ उपत्यकाको सडक विस्तार गुणस्तरीय बनाइ समयमै सम्पन्न गर्न र देशैभरका दुई जिल्ला जोड्ने सडक तत्काल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।
प्रतिक्रिया राख्नुहोस्