प्रचण्डलाई प्रधानमन्त्री ओलीको जवाफ: प्यारापिट र फ्लडलाइटको काम हेर्न कीर्तिपुर जानुस्

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा उठाउनुभएको प्रश्नको जवाफ सार्वजनिक रूपमा दिनुभएको छ।
पूर्व प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा दुई तिहाइको सरकारले आफ्नो पहिलो निर्णयमा कीर्तिपुरमा ३०० दिनभित्र फ्लडलाइट र प्याराफिटसहितको अन्तर्राष्ट्रिय रङ्गशाला बनाउने घोषणा गरेको स्मरण गराउँदै ‘३६५ दिन बितिसक्यो, जोडियो त फ्लडलाइट? बन्यो त प्याराफिट’, भन्दै प्रश्न गर्नुभएको थियो ।
यस प्रश्नलाई सामाजिक सञ्जालमार्फत जवाफ दिँदै प्रधानमन्त्री ओलीले प्रचण्डलाई कीर्तिपुरमै पुगेर काम भइरहेको हेर्न आग्रह गर्नुभयो । “पूर्व प्रधानमन्त्री दाहालजी, बनिरहेको प्याराफिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस्। काम भइरहेको छ।” उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले प्रचण्डले प्रधानमन्त्री हुँदा केही गर्नु पनि नपरेको र नगरेको बताउनुभयो “तपाईँ प्रधानमन्त्री हुँदा न कुनै टाइमलाइन, न कुनै काम। मैले दिन तोकेर काम गरेँ र आफैँमाथि जबाफदेहिता लिएको छु।” उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले प्रचण्डले छाडेको अर्थतन्त्र जर्जर अवस्थामा रहेको आरोप लगाउँदै तथ्याङ्क हेर्न सुझाव पनि दिनुभयो। ”तपाईँ प्रधानमन्त्री हुँदा कुनै पनि कामलाई टाइमलाइन तोकेर गर्छु भन्नुभएन र तपाईँले केही गर्नु पनि परेन र गर्नु पनि भएन । सरकारको कामबारे तथ्य तथ्याङ्क राखेर तपाईँले प्रधानमन्त्रीको रूपमा जवाफ पनि दिनु परेन। तपाईँका त न कुनै वाचा, न कुनै निर्णय, न कुनै सङ्कल्प, न कुनै काम । मैले त दिन तोकेर गर्छु भनेँ, आफैँमाथि प्रश्न आह्वान गरेँ र काम पनि गरेँ । तपाईँले जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुग्यो, तथ्याङ्क हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु ।”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्