तपाईँ सुन्दै हुनुहुन्छः

असोज ३ गतेभित्र एनटीभि वर्ल्ड सञ्चालनमा ल्याउन मन्त्री गुरुङको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण नेपालको ‘एनटीभि वर्ल्ड’ असोज ३ गते भित्रै सञ्चालन गर्न निर्देशन दिनुभएको छ ।

सिंहदरबारस्थित नेपाल टेलिभिजनमा पुगेर उहाँले एनटीभि वर्ल्डको तयारी भइरहेकोमा निरीक्षण गर्दै व्यवस्थापनलाई आवश्यक निर्देशनात्मक सुझाव दिनुभएको हो । मन्त्री गुरुङले एनटीभि वर्ल्डले विश्वमा नेपाल जोड्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै यसको सञ्चालनमा छिटो जोड दिनुपर्ने बताउनुभएको हो । 

सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले नेपालको मौलिकता र विशेषतालाई कायम राख्ने गरि एनटीभि वर्ल्डका कार्यक्रमहरू प्रस्तुत गर्नुपर्ने सुझाव दिनुभयो । साथै उहाँले विश्वसामु नेपालको पहिचान स्थापित गर्ने विषयमा जोड दिन आग्रह गर्नुभयो ।  

पिएसबीका अध्यक्ष डा. महेन्द्र विष्टले एनटीभी वर्ल्डको मर्म र उद्देश्य पूर्ति गर्न व्यवस्थापनमा खटिएको बताउनुभयो । यसका लागि मन्त्रालयको सहकार्यले नै कार्य सम्पादनमा सघाउ पुगेको समेत जानकारी दिनुभयो । सीमित स्रोत र साधनका बिच पनि एनटीभि वर्ल्डलाई विश्व सामु लायक बनाउन प्रयत्नरत हुने उहाँको प्रतिबद्धता छ ।

कार्यक्रममा ड. टंक उप्रेतीले एनटीभि वर्ल्ड सञ्चालनको पूर्व तयारीबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँको प्रस्तुतिमा एनटीभि वर्ल्ड सञ्चालनको ढाँचा, सामाग्री र रचनात्मक संरचनामा केन्द्रित थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button