तपाईँ सुन्दै हुनुहुन्छः

दोलखाको गोंगर खोलामा बाढी, आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह

दोलखा । दोलखाको विगु गाउँपालिका वडा नम्बर– १ स्थित गोंगर खोलामा बिहीबार दिउँसो ४ः०० बजे तिर एक्कासी बाढी आएपछि आसपासका क्षेत्रमा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दोलखाले आग्रह गरेको छ ।

करिब १५ मिनेट आएको बाढीले ठुला–ठूला ढुङ्गाहरू बगाएर ल्याएको स्थानीयले बताएका छन् । साँझसम्ममा पानीको सतह घटेकोले जोखिम कम भएको माथिल्लो तामाकोसी जलविद्युत आयोजना कर्मचारी युनियनका महासचिव राजकुमार श्रेष्ठले बताउनुभयो । 

गोंगर खोला वारी माथिल्लो तामाकोसी आयोजनाको प्लान्ट कार्यालय रहेको छ भने पारी माथिल्लो तामाकोसी आयोजनाको पावर हाउसको पोटल गेट र केही तल गोंगर बजार रहेको छ । गोंगर खोलाको पुल नजिक विगु गाउँपालिका वडा नम्बर– १ को वडा कार्यालय र प्रहरी चौकी रहेको छ । 

गोंगर खोलाको माथि विजुलीडाँडाबाट एक्कासी ठूला– ठूला ढुङ्गासहित बाढी आएपछि आयोजनाको प्लान्ट कार्यालयका कर्मचारी र गोंगर बजारका स्थानीय केही समय बाहिर निस्किएका थिए । केही समय भूकम्प आए जसरी बाढी आएको आयोजनाको कर्मचारी युनियनका महासचिव श्रेष्ठले बताउनुभयो । 

गोंगर खोलामा आएको बाढीले अहिले नै तामाकोसी आयोजनाको प्लान्ट कार्यालय र पावर हाउस जाने पोटल गेटमा कुनै जोखिम नभएको आयोजनाका कर्मचारीहरूले बताएका छन् ।

 

थोरै समय मात्र बाढी आएकोले अहिले प्रहरी चौकी र वडा कार्यालयमा समेत जोखिम नभएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button