तपाईँ सुन्दै हुनुहुन्छः

कम्तिमा १० हजारलाई पुग्ने खाद्यान्न भण्डार स्थापना गर्ने विपद् व्यवस्थापन समितिको निर्णय

भक्तपुर । जिल्ला विपद् व्यवस्थापन समिति भक्तपुरको बैठकले भक्तपुरमा कम्तिमा १० हजार जनालाई पुग्ने खाद्यान्न भण्डार (फुड बैंक)स्थापना गर्ने निर्णय गरेको छ ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार उक्त फुड बैंकमा यहाँ चारवटै नगरपालिकाहरुले बराबर योगदान दिने भएका छन् । उहाँका अनुसार जिल्लाको मध्यपुर थिमि नगरपालिका –९ राधेराधेमा खाली रहेको १४ तले भवनमा उक्त फुड बैंक स्थापना गरिनेछ ।

करिव १० हजार जनालाई पुग्ने उक्त फुड बैंकको व्यवस्थापन तथा सञ्चालन नेपाली सेनाले गर्ने भएको छ ।

फुड बैंक स्थापनाको लागि नेपाली सेनाले उक्त ठाउँमा आवश्यक व्यवस्थापन गरिरहेको छ । हाल नगरपालिकाहरुले वडा तहमा दैनिक ज्याला गरी खानुपर्ने गरिब तथा विपन्न मजदुर परिवारलाई आवश्यक खाद्यान्न राहत वितरण गर्दै आएका छन् ।

कोरोना संक्रमण (कोभिड–१९) को संक्रमण रोक्न सरकारले गरेको लकडाउन लम्बिदै गए जिल्लामा खाद्यान्न अभाव हुन नदिन मध्यपुरथिमि राधेराधेस्थित १७ तले खाली भवनमा खाद्यान्न भण्डार गरिने भएको हो ।

लकडाउनका अवधी लम्बिदै गए जिल्लामा खाद्यान्न अभाव हुन नदिन यहाँ खाद्य सामाग्री भण्डारण गर्ने भएको हो ।

उक्त भवनमा नेपाली सेनाको नेतृत्वमा अत्यावश्यक खाद्यान्नहरु भण्डारण गर्ने र अभाव भएमा जिल्लाका चारैवटा नगरपालिकामा वितरण गर्ने गरि खाद्य भण्डारण गर्ने भएको हो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी पाण्डे, बीरदल गणका गणपति कर्णेल शिवप्रसाद पौडेल, प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, शसस्त्र प्रहरी दुवाकोटका प्रहरी उपरीक्षक विश्वप्रसाद भट्टराईसहित संयुक्त सुरक्षा फौजको टोलीले उक्त भवनको अनुगमन गरि खाद्य भण्डारका लागि छनौट गरिसकेको छ ।

भवन छनौट पश्चात दुर्गाप्रसाद न्यौपानेको राधेराधेस्थित प्रयोगबिहिन १७ तले भवन हालको संकटको समयमा प्रयोग गर्न माग गर्दा न्यौपानेले विपदमा निःशुल्क प्रयोग गर्नेगरि सुरक्षा फौजलाई उपलब्ध गर्न स्वीकृत दिनुभएको छ । ततपश्चात जिल्ला प्रशासन कार्यालय भक्तपुरले न्यौपानेलाई उक्त भवन प्रयोग गर्नेबारे पत्राचार गरिसकेको छ ।

भवनमा खाद्यान्न स्टोर तथा वितरणका लागि प्रयोग गरिने भएपछि नेपाली सेनाको बीरदल गण सूर्यविनायक ब्यारेकबाट खटिएका सेनाको टोलीले भवनको सरसफाई गरि तयारी अवस्थामा राखेको बीरदल गणका गणपति पौडेलले जानकारी दिनुभयो ।
समितिको बैठकमा जिल्ला समन्वय समितिका प्रमुख,नवराज गेलाल भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति ,चाँगुनारायण नगरपालिका प्रमुख सोमप्रसाद मिश्र,सूर्यविनायक वासुदेव थापा र मध्यपुरथिमि प्रमुख मदनसुन्दर श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button