अवरुद्ध राप्ती राजमार्ग १२ घण्टापछि सुचारु
सल्यान। पहिरोका कारण अवरुद्ध भएको राप्ती राजमार्ग झन्डै १२ घण्टापछि सुचारु भएको छ। तुलसीपुर–कपुरकोट सडकखण्डअन्तर्गत कपुरकोट गाउँपालिका–३ चोरखोलामा सोमबार साँझ ६ बजेदेखि पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा बन्द भएको थियो।
पहिरोको क्रम रोकिएन र रातको समयमा काम गर्न कठिन भएकाले मंगलबार बिहानबाट मात्र पहिरो हटाउने कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। सडक विभागको मेसिन प्रयोग गरी बिहान ८ बजेदेखि सडक खुलाइएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक केशर कुमार न्यौपानेले वर्षा जारी रहेकाले अत्यावश्यक बाहेक अन्य कामका लागि यात्रा नगर्न अनुरोध गर्नुभयो। राजमार्ग खुल्दै रोकिएका सवारी साधनहरू गन्तव्यतर्फ गएका छन्।
चोरखोलामा बारम्बार पहिरो खस्ने समस्या रहेकाले पश्चिम रुकुम, पूर्वी रुकुम, रोल्पा, सल्यान र दाङका यात्रुहरू नियमित रूपमा सास्ती भोग्दै आएका छन्।
प्रतिक्रिया राख्नुहोस्