ओखलढुंगामा कोरोनाको र्यापिड परीक्षण गर्ने तयारी

ओखलढुंगा । ओखलढुंगामा नै कोरोनाको र्यापिड परीक्षण हुने भएको छ । १ नं प्रदेश सरकारले कोरोना परीक्षणका लागि आवश्यक स्वाथ्य सामाग्री उपलब्ध गराएपछि जिल्लामा नै कोरोनाको र्यापिड परीक्षण गर्ने तयारी थालिएको हो ।
प्रदेश सरकारबाट र्यापिड डाइग्नोसिस टेष्ट अर्थात आरडीटी किट प्राप्त भएसँगै जिल्लामै सहजरुपमा कोरोना जाँच गरिने जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताउनुभयो ।
उहाँका अनुसार ‘आरडीटी किटले शरीरमा भाइरसको संक्रमण भएपछि उत्पादन हुने एन्टिबडी भए /नभएको मात्रै निक्र्योल गर्ने गर्छ ।
आरडीटीमा कोरोना पोजेटिभ भए कोरोनाको संक्रमणको अनुमान लगाउन सकिन्छ ।’ तिवारीले भन्नुभयो,‘ र्यापिड टेष्टमा कोरोना पोजेटिभ देखियो भने यसको पुष्टिका लागि पीसीआर टेष्ट गराउनु अनिवार्य हुन्छ ।’
आरडीटी किट प्रयोग गरेर १५ मिनेटमै कोरोनाको रिपोर्ट हेर्न सकिने उहाँको भनाई छ ।
प्रदेश सरकारले ओखलढुंगाका लागि एक सय ५० वटा आरडीटी किट उपलब्ध गराएको छ । ओखलढुंगामा हालसम्म छ जनाको पीसीआर टेष्ट गराइसकिएको छ ।
कोरोना संक्रमणको अनुमान गरिएका विदेशबाट आएका छ जनाको स्वाब धरान पठाएर पीसीआर टेष्ट गराइएको थियो ।
विदेशबाट आउने सबैको र्यापिड टेष्ट गरिने
ओखलढुंगामा बिदेशबाट आउने सबैको र्यापिड टेष्ट विधिबाट कोरोना परीक्षण गरिने भएको छ ।
मंगलबारको जिल्ला कमाण्ड पोष्टले सो निर्णय गरेको हो । जसका लागि जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल तथा सम्बन्धित पालिकाहरुलाई यसको संयोजनको जिम्मा दिइएको छ ।








प्रतिक्रिया राख्नुहोस्