तपाईँ सुन्दै हुनुहुन्छः

गुल्मीमा पुराना एम्बुलेन्स प्रयोगविहीन, मर्मत अभाव मुख्य चुनौती

गुल्मी । गुल्मी जिल्लामा हाल ३८ वटा एम्बुलेन्सहरू सञ्चालनमा रहेका छन् । तर तीमध्ये धेरैजसो एम्बुलेन्स पुराना ‘ग’ श्रेणीका भएका कारण तिनीहरूको मर्मत र सुधार गर्न चुनौतीपूर्ण बनेको छ ।

गुल्मी जिल्लामा विभिन्न संघ–संस्थाबाट सञ्चालनमा आएका एम्बुलेन्सहरू आर्थिक अभावका कारण मर्मत गर्न नसक्दा प्रयोगविहीन हुने सङ्ख्या बढ्दो छ । एम्बुलेन्स ल्याउनेमा मात्र प्रतिस्पर्धा भइरहेको र दिगो सञ्चालनका लागि कुनै समग्र योजना नभएका कारण यी एम्बुलेन्सहरू बिग्रेर थन्किन पुगेको नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले बताउनुभयो । 

पहाडी क्षेत्रको कठिन भौगोलिक अवस्थाले एम्बुलेन्स सञ्चालनमा थप चुनौती ल्याएको छ । यसले गर्दा एम्बुलेन्सको नियमित सञ्चालन र मर्मत कार्यमा कठिनाइ उत्पन्न भएको छ । विभिन्न संघ संस्थाहरूले एम्बुलेन्स खरिद गरेर नयाँ छन् जेल चलाउने र पुराना बन्दै गएपछि मर्मत गर्ने खर्चको अभावमा प्रयोगविहीन हुने क्रम बढ्दै गएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताउनुभयो । 

जिल्लामा हाल ३८ वटा एम्बुलेन्स सञ्चालन रहेको तथ्याङ्कमा उल्लेख छ । त्यसमध्ये २९ वटा ग श्रेणीका, ९ वटा ‘ख’ श्रेणीका रहेका छन् । १५ वटामा जिपिएस प्रणाली समेत जडान गरिएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी कृष्णप्रसाद पन्थीले जानकारी दिनुभयो । 

अहिले एम्बुलेन्स सञ्चालनको लागि नयाँ मापदण्ड पनि लागु भएको छ । जिल्ला रहेका पुराना एम्बुलेन्सहरू ‘ग’ र ‘घ’ श्रेणीका रहेका छन् । अहिले नयाँ ल्याउने ‘क’ र ‘ख’ श्रेणीका एम्बुलेन्स आएका छन् । त्यसले पनि पुराना एम्बुलेन्सहरू विस्थापित हुँदै गएका छन् । पुराना एम्बुलेन्सहरू श्रेणी स्तर वृद्धि गर्न पनि समस्या रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button