विराटनगर महानगरपालिकाद्धारा ४ अर्ब ४० लाखको बजेट सार्वजनिक
विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि चार अर्ब ४० लाखको बजेट सार्वजनिक गरेको छ ।
विराटनगर महानगरपालिकाले आज आयोजित नगरसभाको १६ औँ अधिवेशनमा महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले बजेट सार्वजनिक गर्नुभएको हो । महानगरको बजेटले पूर्वाधार विकास, वडास्तरीय योजना र सामाजिक क्षेत्रलाई महत्व दिएको छ ।

बजेटको आम्दानीको स्रोत संघीय सरकार वित्तीय समानीकरण अनुदान ३४ करोड ३४ लाख, प्रदेश सरकार वित्तीय समानीकरण अनुदान तीन करोड ६२ लाख ३० हजार , राजस्व बाँडफाँटबाट प्राप्त हुने राजस्वमध्ये मूल्य अभिवृद्धि कर १५ करोड ३९ लाख, अन्तःशुल्क पाँच करोड, १३ लाख, मनोरञ्जन तथा विज्ञापन कर एक करोड, सवारी साधन कर रु तीन करोड आठ लाख, घरजग्गा रजिस्ट्रेसन ९४ करोड ६० लाख तीन हजार प्राप्त हुने अनुमान बजेटको रहेको उपमेयर कार्कीले बताउनुभयो ।
यसैगरी आन्तरिक राजस्वतर्फ एक अर्ब ४० करोड ,संघीय सरकार सशर्त र समपूरक अनुदान ८३ करोड ३४ लाख , प्रदेश सरकार ससर्त अनुदान चार करोड २३ लाख ६७ हजार, सडक बोर्ड नेपाल एक करोड ५० लाख, अन्य सङ्घसंस्था १६ लाख, नगद मौज्दात १४ करोड गरी चार अर्ब ४० लाखको बजेट महानगरले प्रस्तुत गरेको छ ।
यसैगरी बजेटमा महानगरपालिकाले छोरी बचाउ छोरी पढाऊ कार्यक्रमलाई निरन्तरता दिँदै गर्भवती महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि अस्पताल जानका लागि निःशुल्क एम्बुलेन्स तथा विराटनगरवासीका लागि प्रदान गर्दै आएको शववाहन सेवालाई निरन्तरता दिएको छ ।
सो अवसरमा महानगरपालिकाका उत्कृष्ट कर्मचारीको रुपमा महानगरपालिका नगर प्रहरीका हवल्दार शम्भु घिमिरेलाई एक तह बढुवा गर्दै सम्मान गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्