लगानी अनुसारको प्रतिफल नआएपछि बन्द हुँदै सल्यानका उद्योग

सल्यान । व्यवसाय प्रवद्र्धन हुन नसकेपछि सल्यानका उद्योग व्यवसाय धमाधम बन्द हुन थालेका छन् ।
दर्ता भई सञ्चालन रहेका उद्योग व्यवसाय बन्द गर्नेको सङ्ख्या बढेको सरकारी तथ्याङ्कले देखाएको छ ।
उद्योग व्यवसाय चल्न नसकेपछि, व्यवसायीहरूले दर्ता गरेका उद्योगको लगत कट्टा गर्न थालेका छन् चार वर्षको अवधिमा (६ उद्योग बन्द भएका हुन् ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१÷०८२ को हालसम्म ४० वटा उद्योग बन्द भएका भएका छन् ।
स्थानीय उत्पादनलाई प्राथमिकता नदिँदा साना तथा घरेलु उद्योग बन्द हुने अवस्थामा पुगेको कालिका इन्जिनियरिङ कृषि अनुसन्धान केन्द्रका सञ्चालक घनश्याम भण्डारीले बताउनुभयो । बाह्य जिल्लाबाट माग भएता पनि जिल्लाकै स्थानीय तहले वास्ता नगर्ने गरेको उहाँको भनाई छ ।
कतिपय उद्योग अनुदान पाउने आशामा दर्ता हुने गरेको तर अनुदान प्राप्त नभएमा वा एक पटक अनुदान पाए पश्चात् उद्योग बन्द गर्ने प्रवृत्ति, प्राकृतिक तथा भवितव्यका कारण उद्योगमा क्षति हुन पुगेमा पुनःसञ्चालन गर्नका लागि उद्योगीसँग आर्थिक अभाव हुनु जस्ता कारण उद्योग बन्द हुने अवस्थामा पुगेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका प्रमुख श्याललाल खरालले बताउनुभयो ।
यस्तै, स्थानीयस्तरमा कच्चा पदार्थ नपाइने, बढ्दो वैदेशिक रोजगारमा जाने समस्या, वनजन्य उद्योग सञ्चालनका लागि कानुनी कठिनाइ र उत्पादित वस्तुले बाहिरी जिल्लाबाट आउने उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्नु पनि उद्योग बन्दका कारणभित्र पर्ने उहाँको भनाई छ ।
जिल्लामा हाल ३ हजार ६ सय ६४ उद्योग दर्ता भएका छन् । जसमा हालसम्म ५ सयभन्दा बढी उद्योग बन्द भइसकेका छन् ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले जिल्लामा सिर्जना गरेको रोजगारीको सङ्ख्या १२ हजार ७(६ रहेको जनाएको छ ।
यद्यपि, जिल्लामा आर्थिक वर्ष २०७९÷०८० देखि अनुदान कार्यक्रम बन्द भएको कारण रोजगारी सिर्जनामा समस्या देखापरेको छ ।
प्रतिक्रिया राख्नुहोस्