ईद पर्वले सामाजिक सद्भाव, भाइचारा र राष्ट्रिय एकता थप सुदृढ बनाएको छ : मन्त्री यादव

बीरगंज । खानेपानी मन्त्री प्रदीप यादवले मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर इद इद–उल–अजहाले सामाजिक सद्भाव, भाइचारा र राष्ट्रिय एकता थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।
वीरगञ्जका विभिन्न मस्जिदमा तथा मुस्लिम समुदायका व्यक्तिहरूको घर घरमा पुगेर आज शुभकामना आदान–प्रदान गर्नुहुँदै मन्त्री यादवले वीरगंजमा हिन्दु तथा मुस्लिम समुदायले आ–आफ्ना पर्वमा एक समुदायले अर्को समुदायसँग खुशी साटासाट गर्दै मनाउने परम्परा उच्च रहेकोमा खुशी व्यक्त गर्नुभयो ।

मन्त्री यादवले इदको अवसरमा मुस्लिम समुदायको मौलिक परम्परा र धार्मिक सहिष्णुताप्रति सम्मान व्यक्त गर्दै आ–आफ्नो धार्मिक परम्परा रीतिरिवाज एकापसमा मिलेर मनाउनुले नेपालीहरू बिचको आपसी भाइचारा र सम्बन्धलाई कसैले चाहेर पनि फुटाउन नसक्ने बताउनुभयो ।
वीरगंज तथा बारा, पर्सामा आज मुस्लिम समुदायको पर्व बकर ईदमा ठूलो सङ्ख्यामा हिन्दु समुदायका व्यक्तिहरूको समेत सहभागिता रहेको थियो ।

मुस्लिम समुदायका व्यक्तिहरूको घर घरमा पुगेर एकआपसमा खुशी साटासाट गरी हिन्दु समुदायले पनि यस पर्वमा मुस्लिम धर्मावलम्बीलाई सम्मान गरेका थिए ।
यसैगरी बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले समेत वीरगञ्जका विभिन्न मस्जिद र इदगाह क्षेत्रमा पुगेर उनीहरूसँग खुशी साटासाट गरी पर्वको अवसरमा शुभकामना आदान प्रदान गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्