अदालतले दोषीलाई नछाड्ने र निर्दोषलाई अन्याय हुन नदिने: महामन्त्री थापा
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका ९३ जना विरुद्ध लगाएको मुद्दामा सरकारको हात नभएको बताउनुभएको छ ।
विराटनगर विमानस्थल आज सञ्चारकर्मी सँग कुरा गर्दै उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोग संविधानले बनाएको संवैधानिक निकाय भएकाले यस विषयको मुद्दा अदालतमा अभियोजनमा गएको अवस्थामा यो कुरामा टीकाटिप्पणी आफूले नगर्ने बताउनुभयो । अदालतले दोषीलाई नछाड्ने र निर्दोषलाई अन्याय हुन नदिने उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले भिजिट भिसा प्रकरणका विषयमा संसदमा कुरा उठेकाले त्यहाँका केही कर्मचारीका विषयमा अख्तियारले नै अनुसन्धान गरिरहेकाले अहिले नै यस विषयमा बोल्नु भन्दा अनुसन्धानलाई कुनै पनि निकायले प्रभावित गर्न नहुने बताउनुभयो ।
अहिलेको सरकारले जुन गतिमा काम गर्नुपर्ने हो, त्यो गतिमा काम गर्न नसकेको बताउँदै नेपाली कांग्रेस पार्टीमा निरन्तर रुपमा यस विषयमा छलफल भइरहेको उहाँको भनाई थियो । सत्तामा नेपाली कांग्रेस पनि भएकाले नेपाली जनताको अपेक्षा अनुसारको काम गराउन कांग्रेस लागि रहेको बताउनुभयो ।
संविधान संशोधनको विषयका लागि छिट्टै समिति निर्माण गरी काम अगाडि बढाउन सत्तासाझेदार दलहरू एक ठाउँमा उभिएको बताउनुभयो । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको कुरा गर्ने समय नआइसकेको भन्दै १४ महाधिवेशनले दिएको जिम्मेवारी पूरा गर्न लागेको पनि उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्