तपाईँ सुन्दै हुनुहुन्छः

झापामा करेन्ट लागेर जंगली हात्तीको मृत्यु

झापा।झापाको कमल गाउँपालिका–३ स्थित रतुवामाई वृक्षारोपण आयोजना क्षेत्रको जंगलमा करेन्ट लागेर एक जंगली हात्तीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हात्तीले जंगलमा रहेको विद्युत्को फलामे पोल धकेल्दा हाइटेन्सन लाइनमा छोइएको थियो। करेन्ट लाग्दा हात्तीको सुँड र एउटा दारा जलेर घटनास्थलमै मृत्यु भएको हो।

घटनास्थलमा प्रहरी चौकी केर्खाबाट टोली खटिएको छ भने कानुनी प्रक्रिया पूरा गर्न डिभिजन वन कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ। सब डिभिजन वन कार्यालय चुलाचुलीबाट पनि टोली घटनास्थलमा पुगिसकेको छ।

यसअघि जेठ ७ गते बुद्धशान्ति गाउँपालिका–५ स्थित पाँचपोखरी सामुदायिक वनमा पनि एक जंगली हात्ती मृत अवस्थामा फेला परेको थियो। हालसम्म चालु आर्थिक वर्षमा झापामा तीनवटा जंगली हात्तीको मृत्यु भइसकेको छ। यस्तै, हात्तीको आक्रमणमा परी चारजनाको ज्यान गइसकेको जिल्ला वन डिभिजन कार्यालय झापाले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button