सल्यानमा विद्यालयको छाना हावाहुरीले उडाउँदा पढाई प्रभावित

सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा ११ पाँचहारेस्थित नवज्योति प्राथमिक विद्यालयको छाना हावाहुरीले उडाएको डेढ महिना भइसक्दा समेत मर्मत हुन सकेको छैन ।
चैत्र २७ गतेको हावाहुरीले दुई कोठे भवनको छाना उडाएको थियो । हुरीले फालेको छाना मर्मत नहुँदा बालबालिकाको पठनपाठन प्रभावित भएको छ ।
हावाहुरीले विद्यालयको छाना उडाएपछि कक्षा ५ सम्म सञ्चालित विद्यालयको कक्षा ४ र ५, ३ र २, १ र शिशु कक्षाका बालबालिकालाई एउटै कोठामा राखेर पढाउन बाध्य भएको विद्यालयका प्रधानाध्यापक रत्नबहादुर रानाले बताउनुभयो । दुई कक्षाका विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउँदा नबुझ्ने समस्या देखिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “छुट्टाछुट्टै कोठामा भए एक शिक्षकले एउटा कक्षामा ४५ मिनेट पढाउन पाउँथे । अहिले २० मिनेट एउटा कक्षा र २० मिनेटसँगै बसेका अर्का कक्षाका विद्यार्थीलाई पढाउनुपर्छ ।
दैनिक जसो वर्षात भइरहेकाले कोठा भिजेका कारण हावाहुरीले फालेको भवनमा विद्यार्थी राख्न नसकिएको उहाँको भनाई छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलीप बुढाले विद्यालयसँग बजेट नभएकाले तत्काल हावाहुरीले फालेको भवनको छानो मर्मत गर्न नसकिएको बताउनुभयो । विद्यालयको भवन मर्मतका लागि पालिकामा बजेटको माग गरिएको र केही दिनमा नै पालिकामा गएर सम्झौता गरिने उहाँले बताउनुभयो ।
५७ विद्यार्थी रहेको विद्यालयमा तीन शिक्षक दरबन्दी र एक शिशु गरी चार शिक्षक कार्यरत रहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्