जलवायु अनुकूलनका लागि डिजिटल साक्षरतामा जोड
काठमाडौँ । सरोकारवालाहरुले जलवायु अनुकूलनका लागि डिजिटल साक्षरतामा जोड दिएका छन् । शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको आज दोस्रो दिनको पर्वतीय क्षेत्रमा अनुकूलनका लागि विज्ञान र प्रविधिको संयोजन विषयक समानान्तर सत्रमा वक्ताहरूले जलवायु परिवर्तनको असर न्यूनीकरण उपाय अवलम्बनका लागि प्रविधिको विकासका साथै डिजिटल साक्षरतामा जोड दिएका हुन् ।

जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल आइपिसिसीका महासचिव अब्दालाह मोक्स्सितले जलवायु परिवर्तनको मुख्य प्रभाव हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसहरूमा परेको र समयमा अनुकूलनका उपायहरू अवलम्बन गर्न नसकेमा अझै बढी जोखिम बढ्ने बताउनुभयो ।
द एनर्जी एन्ड रिसोर्सेस इन्स्टिच्युट भारतको महानिर्देशक विभा धवनले पछिल्लो समय कृषिमा प्रयोग हुने रासायनिक मलका कारण हरित गृह ग्यास उत्सर्जन बढाउनुका साथै पानीको स्रोत समेत प्रदूषण गराइरहेको भन्दै जैविक मल प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो ।
जलवायुविद् डा माधव कार्कीले स्थानीय तथा आदिवासी जनजातिको परम्परागत ज्ञानलाई पनि सम्बोधन गर्दै जलवायु अनुकूलनका कार्यक्रम लागू गर्नुपर्नेमा जोड दिनुभयो ।
ग्रोनिङ्गेन विश्वविद्यालय, नेदरल्याण्ड्सका विज्ञान, प्रविधि र समाज विषयका प्राध्यापक प्राडा क्लाउस हुबासेकले प्रविधिको विकास, स्थानीय समुदायसँग समन्वय र सहभागितामा आधारित डिजिटल समस्याको समाधान गर्न सकिएमा जलवायु अनुकूलन प्रभावकारी हुने बताउनुभयो ।
संयुक्त राष्ट्र विश्वविद्यालय, वातावरण तथा मानव सुरक्षा संस्था जर्मनीका डा स्टेफान श्नाइडरबाउअरले जलवायु परिवर्तनको समस्या भोगिरहेका समुदायलाई अनुसन्धानबाट निस्किएको निष्कर्ष र तथ्याङ्कलाई निःशुल्क वितरणको व्यवस्था हुनुपर्ने र जलवायु न्यूनीकरणका लागि क्षमता अभिवृद्धि तथा प्रविधि हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनको असर बढी परेको भन्दै त्यस क्षेत्रमा डिजिटल साक्षरता बढाउनुपर्ने उहाँको भनाइ छ ।
उच्च हिमाली क्षेत्रदेखि तटीय क्षेत्रसम्मका स्थानीय समुदायमा जलवायु परिवर्तनका प्रभाव अझ बढी परेको तापक्रम वृद्धिदेखि अनियमित वर्षा, हिमनदी पग्लिनु, हावाको प्रदूषण, वातावरणीय क्षति र जैविक विविधताको क्षयजस्ता समस्याले उनीहरूको जीवनयापन, खाद्य सुरक्षा र सांस्कृतिक सम्पत्तिलाई खतरामा पारिरहेको भन्दै वक्ताहरूले चिन्ता व्यक्त गरेका छन् । सत्रको सहजकर्ताको भूमिका, इन्जिनियरिङ र प्रविधि स्कुल, एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीका डीन संगम श्रेष्ठले निर्वाह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्