तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेश सरकारले स्पोर्टस अवार्ड गर्दै

मकवानपुर । बागमती प्रदेश सरकारले पहिलो पटक “बागमती प्रदेश स्पोर्टस अवार्ड एन्ड युथ समिट” आयोजना गर्ने भएको छ । 

प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले बिहीबार हेटौँडामा पत्रकार सम्मेलन गरेर आगामी जेठ ४ गते हेटौँडा–४, हुप्रचौरमा विशेष सांस्कृतिक कार्यक्रमसहित अवार्ड कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिएको हो । 

पत्रकार सम्मेलनमा बोल्दै प्रदेशका युवा तथा खेलकुद मन्त्री मीन कृष्ण महर्जनले खेलाडीहरूलाई प्रोत्साहन र सम्मान गर्ने कार्य प्रदेशले थालेको भन्दै खेलाडीको विदेश पलायन रोक्नका लागि प्रयास गरिएको बताउनुभयो । 

मन्त्रालयले प्रदेशका पूर्व तथा वर्तमान खेलाडी, प्रशिक्षक र पत्रकारलाई सम्मान गर्ने उद्देश्यका साथ पहिलो पटक कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ ।

मन्त्रालयका निमित्त सचिव सूर्य बहादुर दाहालले कार्यक्रममा वर्षका उत्कृष्ट खेलाडी महिला÷पुरुष, युवा, प्रशिक्षक, लाइभ टाइम एचिभमेन्ट, बागमती खेलकुदको शान, लोकप्रिय खेलाडी, उत्कृष्ट पत्रकार समेत ८ विधामा १२ जना छनोट गरी अवार्ड प्रदान गरिने बताउनुभयो । 

उहाँका अनुसार उत्कृष्ट महिला÷पुरुष, लाइभ टाइम एचिभमेन्ट अवार्ड, बागमती खेलकुदको शान, प्रशिक्षकलाई अवार्डसहित १ लाख रुपैयाँ तथा अन्य विधालाई जनही ५० हजार रुपैयाँ प्रदान गरिने छ । 

कार्यक्रमका लागि मन्त्रालयले दीपक श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय प्राविधिक उप समिति गठन गरिएको छ । उक्त समितिले अवार्डका लागि खेल क्षेत्रका व्यक्तित्वको नाम सिफारिस गर्नेछ । खेलाडी वा प्रशिक्षकका रुपमा विगतमा पुर्याएको योगदान, हाल दिलाएको सफलता, समाजमा त्यसको प्रभाव, नयाँ पुस्तालाई प्रेरणा मिल्ने उद्देश्यलाई पनि अवार्ड दिने व्यक्तित्व छनोटको क्रमलाई ध्यानमा राखिने आयोजकको दाबी छ । 

कार्यक्रम सम्पन्न गर्न ३० लाख रुपैयाँ लागत लाग्ने आयोजकले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button