प्राकृतिक नाढीमन तालमा दुई हजारभन्दा बढी बिरुवा रोपिने

सर्लाही । चन्द्रनगर गाउँपालिकाको गौरव र सम्पदाको प्रतीक मानिने नाढीमन तालको संरक्षण, विकास, मौलिक पुनःनिर्माण, सौन्दर्यीकरण तथा प्रवद्र्धनका लागि “यक्ष दह उद्यान निर्माण जनअभियान २०८२” को आज बाट शुभारम्भ भएको छ।
चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले आज कल्पवृक्षको बिरुवा रोपेर जनअभियानको सुरुवात गर्नुभयो ।
नाढीमन तालको संरक्षण, विकास, मौलिक पुनःनिर्माण, सौन्दर्यीकरण तथा प्रवद्र्धनका लागि २ हजार २ सय विभिन्न प्रजाति फुल र रैथाने बिरुवा रोपिने तथा व्यक्तिगत खर्चमा आफूले १० वटा बिरुवा रोपने अध्यक्ष महतोले घोषणा गर्नुभयो ।
उहाँले विभिन्न प्रजातीका फुल र रैथाने बिरुवा रोप्न गाउँपालिकाले खर्च नगरी नागरिकले आफ्नो लगानीमा फुल र बिरुवा रोपने भएको हुँदा यसलाई नाढीमन तालमा यक्ष दह उद्यान निर्माण जनअभियान नामकरण गरिएको अध्यक्ष महतोले बताउनुभयो ।
गाउँपालिकाले सबै सरोकारवाला, जनप्रतिनिधि, कर्मचारी, सामाजिक अभियन्ता, सङ्घसंस्था तथा स्थानीय बासिन्दाहरूलाई यो अभियानमा सहभागी गराउने उहाँले बताउनुभयो ।
अध्यक्ष महतोले फुल र बिरुवा ३ किलोमिटर सम्म रोपिने र फुल तथा बिरुवा संरक्षण गर्न फलाम र जालीको घेरा गरि ६ जना कर्मचारी भर्ना गरिने बताउनुभयो ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश यादवले नाढीमन ताललाई सौन्दर्यीकरण गरेर वास्तवमै सबै किसिमले प्राकृतिक बनाइने बताउनुभयो ।
शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका प्रमुख मोती प्रसाद भट्टराईले नाढीमन तालको संरक्षण, विकास, मौलिक पुनःनिर्माण, सौन्दर्यीकरण तथा प्रवद्र्धन अन्तर्गत २२ सय बिरुवा सहजै रुपमा रोपिन सकिने बताउनुभयो । उहाँले यसले पर्यटन व्यवसाय प्रवर्द्धन गर्ने तथा रोजगारी पनि सिर्जना गर्ने बताउनुभयो ।
यसैगरी, नेपाल शिक्षक महासङ्घका सचिव तथा अखिल क्रान्तिकारी शिक्षक सङ्गठन चन्द्रनगरका अध्यक्ष राम कुमार रायले शिक्षकको तर्फबाट १ सय बिरुवा रोपिने घोषणा गर्नुभयो ।
मोलवी अली हसनले यक्ष दह उद्यान निर्माण जनअभियान उदाहरणीय कार्य भएको बताउनुभयो ।
गाउँपालिकाका अनुसार यो अभियान नाढीमन ताललाई पर्यटकीय तथा सांस्कृतिक केन्द्रको रुपमा विकास गर्न दिशानिर्देशक साबित हुनेछ। कार्यक्रमले स्थानको ऐतिहासिकता, मौलिकता तथा प्राकृतिक सौन्दर्यलाई उजागर गर्दै स्थानीय विकासमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ।
प्रतिक्रिया राख्नुहोस्