जनकपुरधाम तेस्रो मेयर कपमा सर्लाही विजयी

जनकपुरधाम । जनकपुरधाममा जारी रहेको तेस्रो जनकपुरधाम मेयर कप टि–२० क्रिकेट प्रतियोगिताको आज बिहान भएको खेलमा सर्लाही जिल्ला क्रिकेट टिमसँग रौतहट क्रिकेट टिम ३६ रनले पराजित भएको छ ।
जनकपुरधामको रामजानकी बहुउद्देश्यीय रङ्गशालामा जनकपुरधाम उपमहानगरपालिकाको आयोजना तथा नेपाल क्रिकेट सङ्घको सहयोगमा भइरहेको जनकपुरधाम मेयर कपमा सर्लाही जिल्लाले टस जितेर व्याटिङ्ग गरेकोमा २० ओभरको खेलमा ९ विकेटको क्षतिमा १०९ रन बनाएका थिए ।
सर्लाहीका तर्फबाट अशोक पौडेलले २४ रन, कृष्ण ऐरले २४ रन, दिपेश दासले १९ रन र अशोक यादवले १० रन बनाएपनि अन्य व्याट्स म्यानले दोहोरो अङ्कमा रन बनाउन नसकेपछि सर्लाही पुरा ओभर खेल्दै १ सय ९ रनको मध्यम स्कोर खडा गरेका थिए । रौतहटका तर्फबाट आशिक वैठाले ४ विकेट, मोहन घिमिरेले ३ विकेट, सन्नी साहले २ विकेट लिएका थिए ।
जीतका लागि ११० रनको लक्ष्य सहित खेल मैदानमा उत्रेका रौतहटले १७.५ ओभरमा सबै विकेट गुमाएर केवल ७३ रन बनाएका थिए । रौतहटका तर्फबाट रनवीर यादवले २० रन र राजेश यादवले पनि २० रन बनाएपनि अन्य व्याट्स म्यानले दोहोरो अङ्कमा रन बनाउन नसकेपछि सर्लाहीसँग ३६ रनले पराजित भएको छ ।
उक्त खेलमा सर्लाही जिल्ला क्रिकेट टिमका प्रदीप पासवान म्यान अफ दि म्याच घोषित भएका छन् । उनले ४ ओभरमा २ मेडन सहित १२ रन खर्चेर ३ विकेट लिएबापत म्यान अफ दि म्याच घोषित भएका थिए ।
अहिले दोस्रो म्याच जारी रहेको छ । दोस्रो म्याच बारा क्रिकेट टिम र पर्साका माउन्टेन स्पोर्टस क्लबका बीचमा भइरहेको छ । बाराले टस जितेर व्याटिङ्ग रोजेकोमा ८ विकेटको क्षतिमा २० ओभर खेल्दै १७४ रन बनाएको छ । १७५ को लक्ष्य सहित खेल मैदानमा उत्रेका पर्साले २.५ ओभरमा ३ विकेटको क्षतिमा १३ रन बनाउदै खेली रहेको छ ।
तेस्रो जनकपुरधाम मेयर कपमा मधेश प्रदेशका ८ जिल्ला तथा भारतका ४ गरेर कूल १२ टिमको सहभागिता रहेको छ । विजेता टिमलाई २ लाख र ट्रफि तथा उपविजेता टिमलाई १ लाख २५ हजार र ट्रफि प्रदान गरिने कार्यक्रम रहेको जिल्ला क्रिकेट संघ धनुषाका सदस्य सरोज कुमार मिश्रले जानकारी दिनु भएको हो । वैशाख २६ गतेबाट शुरु भएको प्रतियोगिता जेठ २ गतेसम्म चल्ने कार्यक्रम रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्