तपाईँ सुन्दै हुनुहुन्छः

रैथाने जंगली हात्तीको नामाकरण

झापा । झापा जिल्लाभित्र विचरण गर्दै आएका रैथाने जङ्गली हात्तीको पहिचान गरी तिनीहरुको नामकरण गरिएको छ ।


मेचीनगर नगरपालिका, इसिमोड र उज्यालो नेपालको पहलमा वन्यजन्तु संरक्षणकर्मी शङ्कर लुइँटेलले जङ्गली हात्तीका बारेमा एक दशक लामो अध्ययनपछि व्यवहार र स्वरुपका आधारमा नाम दिनुभएको हो । ‘झापाका रैथाने हात्तीहरु’ नामक पुस्तिकामार्फत हात्तीका नामहरु सार्वजनिक गरिएको छ ।

पहेँलो दाह्रा भएको र दुबै आँखाको दृष्टि गुमाएको अन्दाजी ४५ वर्षको भाले हात्तीको नाम ‘आँखा हात्ती’ राखिएको छ । मानव बस्तीमा हिँड्दा शान्त स्वभाव देखाउने र एक्लै विचरण गर्न रुचाउने यो हात्तीलाई गाउँलेले ‘अन्धा हात्ती’ पनि भन्ने गर्दथे । ‘अन्धा’ शब्द प्रयोग नहोस् भनेर ‘आँखा हात्ती’ नामकरण गरिएको लुइँटेलले बताउनुभयो । नेपाल–भारत सीमा क्षेत्रमा देखा परिरहने र झापाका विभिन्न सामुदायिक बनमा एक्लै डुल्ने लामो र मोटो दुई दाह्रा भएको अर्को वयस्क हात्तीको नाम ‘ठूलो दाह्रे’ राखिएको छ । मझौला दाह्रा र चञ्चले स्वभाव भएको १२ वर्ष उमेरको अर्को हात्तीको नाम ‘चुलबुल गज’ र दाह्रा विपरीत दिशामा बाहिरतिर फैलिएको अन्दाजी ५५ वर्षको अर्को हात्तीको नाम ‘घुमन्ते राजगज’ राखिएको छ ।

यस्तै, अन्य हात्तीहरुको नाम मुलादन्ते, घुमन्ते गज, ढिकीच्याउँ दाह्रे, ठुटे, प्रसाद गज र एक दाह्रे सानो गज राखिएको छ । भारतबाट नेपालतिर हात्ती प्रवेश गर्ने विभिन्न नाकामध्येको प्रसाद गौडाबाट मात्र हिँड्ने स्वभाव भएका कारण एउटा हात्तीको नाम ‘प्रसाद गज’ राखिएको हो । मुलादन्ते हात्तीको दाह्रा मुलाजस्तो आकारको छ भने ढिकीच्याउँ हात्तीको दुईवटा दाह्रा तल र माथितिर फैलिएको छ ।

कुन हात्ती कस्तो छ भनेर चिन्न र त्यहीअनुसार हात्तीमैत्री व्यवहार गर्न सहयोग पुगोस् भनेर रैथाने हात्तीको नामकरण गरिएको मेचीनगर नगरपालिका वडा नं ४ का वडाध्यक्ष अर्जुनुमार कार्कीले जानकारी दिनु भयो ।

नेपालमा पाइने रैथाने हात्तीहरु एसियाली हात्तीको भारतीय उपप्रजातिअन्तर्गत पर्दछन् । स्थानीय जङ्गललाई वासस्थान बनाउँदै आएका यी रैथाने हात्तीहरु पूर्वी नेपालको झापादेखि पश्चिममा उदयपुर र पूर्वमा भारतको आसामसम्म ओहोरदोहोर गर्दै आएको वडाध्यक्ष कार्कीले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button