भोजपुर गोल्डकप : चर्च ब्वाइज फाइनल प्रवेश
भोजपुर । आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रवार भएको सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड ललितपुरले भगवती स्पोर्टस क्लब खोटाङलाई १–० गोलले पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ ।

प्रतिस्पर्धात्मक बनेको खेलमा चर्च ब्वाइज युनाइटेडका जर्सी नम्बर ७ का खेलाडी समिर तामाङले गरेको एक गोल नै फाइनलका लागि निर्णायक बन्यो । भगवतीका तर्फबाट कुनै पनि गोल हुन सकेन । सेमिफाइनलको म्यान अफ द म्याच बनेका चर्च ब्वाइजका गोलकर्ता समीरले नगद पाँच हजार पाएका छन् ।
उपाधिका लागि शनिवार फाइनल खेल सशस्त्र प्रहरी बल नेपाल एपीएफ) र चर्च ब्वाइज युनाइटेडका बीचमा हुने आयोजक भोजपुर जिल्ला फुटबल संघका उपाध्यक्ष भास्कर तामाङले जानकारी दिनुभयो ।
जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रत्येक वर्ष हुँदै आएको प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधि सहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउने छन् । अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था गरिएको आयोजक भोजपुर जिल्ला फुटबल संघका उपाध्यक्ष तामाङले जानकारी दिनुभयो ।
गत वर्ष सञ्चालन भएको सातौं संस्करणमा चर्च व्वाइज युनाइटेड, काठमाडौँले त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटमा ४–२ गोलले पराजित गर्दै विजेता बनेको थियो ।
प्रतिक्रिया राख्नुहोस्