अन्तर्राष्ट्रिय आमन्त्रित भोजपुर गोल्डकपः मोरङलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनल प्रवेश

भोजपुर । भोजपुरको प्रतिष्ठित आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार भएको अन्तिम क्वाटर फाइनल खेलमा चर्च ब्वाइज युनाइटेड काठमाडौँ सेमिफाइनल प्रवेश गरेको छ ।
चर्च व्वाइज र एलएक्स सिटि मोरङका बीचमा भएको खेलमा निर्धारित समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेललाई पेनाल्टी सुटआउटमा लगिएको थियो । पेनाल्टी सुटआउटमा पनि दुवै तर्फबाट बराबर तीन तीन गोल भएपछि खेल ‘सडनडेथ’मा धकेलियो । चर्च व्वाइजका तर्फबाट एकराज बुढाथोकी, सामुएल सुनुवार, सुजन बलमपाकी गरेका थिए भने मोरङका तर्फबाट अभिषेक ठकुरी, छिरिङ तामाङ र नवयुग श्रेष्ठले गोल गरे ।
सडनडेथमा भने चर्च व्वाइजका लाक्पा पाख्रिनले गरेको गोल नै निर्णायक बनेको थियो । प्रतियोगिताको म्यान अफ ल म्याच चर्च व्वाइजका गोल रक्षक विवश चौधरी बने ।
प्रतियोगिता अन्तर्गत बिहीबारबाट सेमिफाइनलका खेल हुने छन् । पहिलो खेल सशस्त्र प्रहरी बल नेपाल
(एपीएफ) र जर्जियन फुटबल क्लब भारतका बिचमा हुने छ भने शुक्रवार दोस्रो खेल भगवती स्पोर्टस क्लब खोटाङ र चर्च ब्वाइज युनाइटेड काठमाडौँका बीचमा हुने आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले जनाएको छ ।
करिब ४९ लाखको लागतमा भोजपुर नगरपालिका वडा नम्बर ७ मा रहेको रङ्गशालामा बैशाख १४ गतेदेखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा छिमेकी भारतको जर्जियन फुटबल क्लब, आयोजक भोजपुर जिल्ला फुटबल संघ, सलहेश फुटबल क्लब सिरहा, सशस्त्र प्रहरी बल नेपाल, भगवती स्पोर्टस क्लब खोटाङ, नवोबुद्ध फुटबल क्लब सप्तरी, चर्च ब्वाइज युनाइटेड काठमाडौँ र एलएक्स सिटि मोरङ गरी आठ टिमले सहभागिता जनाएका थिए ।
जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रत्येक बर्ष जिल्ला सदरमुकाममा सञ्चालन हुँदै आएको प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधि सहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउने छन् । अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था गरिएको आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले जानकारी दिनुभयो । प्रतियोगिताका लागि भोजपुर नगरपालिकाले ३० लाख सहयोग गरेको छ ।
गत बर्ष सञ्चालन भएको सातौं संस्करणमा चर्च व्वाइज युनाइटेड, काठमाडौँले त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटमा ४–२ गोलले पराजित गर्दे विजेता बनेको थियो ।
प्रतिक्रिया राख्नुहोस्