तपाईँ सुन्दै हुनुहुन्छः

बजार नपाएपछि बारीमै सुक्यो किसानको टमाटर 

चितवन  । चितवनमा टमाटरले बजार नपाउँदा अधिकांश किसानका टमाटर बारीमै सुकेर गएको छ । 

उत्पादन राम्रो भए पनि किसानले टिप्ने र ढुवानी मूल्य समेत नपाउँदा टमाटर बारीमै नष्ट भएको हो । 

भरतपुर महानगरपालिका–२६, दिव्यनगर जुनेली गाउँका किसान नवदत्त अधिकारीको १५ कठ्ठा बारीमा लटरम्म फलेको टमाटर सुकेर गएको छ । बारीभरि लटरम्म टमाटर भए पनि बजार मूल्य नपाएपछि अधिकारीले बजार पुर्‍याउन सक्नुभएन  । गत माघमा उनले डेढ बिगाहाभन्दा बढी क्षेत्रफलमा लगाएको फूलकोभी र एक बिगाहामा लगाइएको बन्दा नष्ट गर्नुभएको थियो ।

तरकारी बारीबाट नउठेपछि र छिप्पिन थालेपछि उहाँले ट्याक्टर लगाएर नष्ट गरे पनि लगानी उठ्छ कि भनी सोही जग्गामा लगाइएको टमाटर पनि फाल्नु परेको  बताउनुभयो  । “टमाटर फलाएर के गर्नु ? बजार छैन । एक बिगाहामा टमाटर लगाउन करिब छ लाख रुपैयाँ खर्च हुन्छ । जब उत्पादन सुरु भयो तब टमाटरले बजार नै पाएन, यसपटक त लगानी नै उठ्ने अवस्था छैन”, अधिकारीले भन्नुभयो ।टमाटरको मूल्य नपाए पनि खेतबारीमा मल होला भनेर टमाटर फाल्न बाध्य भएको उहाँले बताउनुभयो ।

१५ कठ्ठामा टमाटर फल्ने बनाउन उहाँको करिब साढे तीन लाख खर्च भएको छ  । एक क्रेटमा २३ किलो टमाटर हुने र मन्डी पुर्‍याउँदाको ढुवानी खर्च ५० रुपैयाँ लाग्ने उहाँले बताउनुभयो  । “बीउ बिजन किनेको, औषधि÷विषादी, भाटा बाँधेकोलगायत खर्चको त कुरै छाडौँ । रोपेदेखि फल्ने बनाउन एउटा बोटमा ३५ देखि ४० रुपैयाँ खर्च आउँछ ।”, उहाँले भन्नुभयो  ।

लागत मूल्यसमेत नआउने गरी प्रतिकिलो टमाटर १०–१२ रुपियाँमा समेत बिक्री नभएको अधिकारीको भनाइ छ । बजारमा २५ रुपैयाँ किलो उपभोक्ता मूल्य रहेको टमाटर किसानले भने १० रुपैयाँमा लैजाऊ भन्दा पनि नलगेको उहाँले बताउनुभयो  ।

विगत २२ वर्षदेखि करिब चार बिगाहा जमिनमा तरकारी खेती गरेका अधिकारी आफूजस्ता धेरै किसानको टमाटर बिक्री नभएर खेतमै कुहिएको बताउनुहुन्छ  । उहाँले ४ बिगाहामा मौसमी तरकारी चिचिन्डो, करेला, फर्सी, लौका, काँक्रो लगाउनुभएको छ । उहाँले तरकारी खेतीबाट ३० जनालाई रोजगारी दिनुभएको छ । राज्यले बजारको व्यवस्था गरिदिए साह्रै ठूलो गुन हुने बताउँदै अधिकारीले भारतबाट टमाटर आयात हुँदा यहाँको उत्पादनले बजार नपाएको गुनासो गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button