तपाईँ सुन्दै हुनुहुन्छः

अलपत्र योजनाहरूलाई जीवन्त बनाइने, स्थानीय सरकारसँग सहकार्य गरिने

हेटौँडा । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले आगामी आर्थिक वर्ष २०८२।८३ को बजेट उत्पादनमुखी बनाउने प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको स्पष्ट गर्नुभएको छ।

बुधबार आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा आयोजित पूर्व बजेट छलफल कार्यक्रममा मन्त्री काफ्लेले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय अभावका कारण बजेटको सही सदुपयोग हुन नसकेको उल्लेख गर्नुभयो। उहाँले सबै तहको सरकारको साझा उद्देश्य जनताको सेवा भएकाले योजनाहरू निर्माण गर्दा उत्पादन, रोजगार र सेवामूलक पक्षमा जोड दिनुपर्ने बताउनुभयो।

“हामी अरूको मातहत भनेर पन्छिन सक्दैनौँ। जुनसुकै तहको सरकार होस्, काम नेपालको लागि नै हो। योजना अलपत्र पार्ने र दोषारोपण गर्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्छ,” मन्त्री काफ्लेले भन्नुभयो। उहाँले प्रदेशका पुराना तथा अलपत्र योजनाहरूलाई जीवन्त बनाउँदै निर्माण प्रक्रियामा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

काफ्लेले बजेट निर्माणमा कृषि मन्त्रालयसँग सहकार्य गरेर उत्पादन बढाउने योजना रहेको जानकारी दिनुभयो। सीमित स्रोतसाधनको अधिकतम उपयोग गरेर जनतालाई सन्तुष्टि दिनुपर्नेमा उहाँले जोड दिनुभयो। “हामी नेपाली हौँ, हाम्रो आवश्यकता धेरै छ। अमेरिका देखाएर होइन, आफ्नै स्रोत साधनबाट समाधान खोज्नुपर्छ,” उहाँले भन्नुभयो।

कार्यक्रममा मन्त्रालयका सचिव कृष्ण प्रसाद मैनालीले आगामी बजेट स्थानीय सरकारमैत्री हुने उल्लेख गर्दै परियोजना बैङ्क अवधारणा लागू गरिने जानकारी दिनुभयो। यसैक्रममा हेटौँडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले आठ वर्षअघि दिएको जग्गामा अझै प्रशासनिक भवन निर्माण हुन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल पहल गर्न आग्रह गर्नुभयो। साथै, उहाँले आगामी योजनामा लागत सहभागिताको आधारमा योजना तय गर्न सुझाव दिनुभयो।

प्रदेश सरकारले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी बजेट निर्माण गर्ने स्पष्ट सङ्केत दिएको छ। अलपत्र योजनाहरूलाई पूर्णता दिने गरी बजेट तर्जुमा गरिने प्रदेश सरकारको योजना छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button