बालविवाह न्यूनीकरण गर्न जनकपुरधाममा मधेश बालिका सम्मेलन शुरु
जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरूमा बढेको वाल तथा भागी विवाहलाई न्यूनीकरण गर्नका लागि आजदेखि जनकपुरधाममा मधेश बालिका सम्मेलन २०८२ शुरु भएको छ ।

“सक्षम बालिका : समृद्ध मधेश” मूल नारासहित बालविवाह विरुद्ध प्रदेश स्तरीय सञ्जालको आयोजना तथा मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयको समन्वयमा शुरु भएको सम्मेलनमा मधेश प्रदेशका जिल्लाहरूमा बालविवाह न्यूनीकरणका विषयमा विज्ञ तथा सरोकारवालाहरूको बीचमा छलफल तथा संवाद हुने कार्यक्रम रहेको हो ।
मधेश प्रदेशका जिल्लाहरूमा अहिले ३४ प्रतिशतले बालविवाह रहेका छन् । ५ वर्ष अगाडी बालविवाह गर्नेको सङ्ख्या ४२ प्रतिशत रहेकोमा अहिले कानूनी, सामाजिक तथा लाईफ नेपाल जस्ता संस्थाहरूले गरेको निरन्तर प्रयासका कारणले अहिले ८ प्रतिशतले घटेको छ । बालविवाह घट्नुमा ग्रामीण क्षेत्रहरूमा वाल क्लब गठन गरेर निगरानी बढाएपछि यसको सङ्ख्यामा कमी छ ।
बालिका सम्मेलनको उद्घाटन गर्दै मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद कुमार जयसवालले मधेश प्रदेशको कलङ्कको रुपमा रहेको दाइजो, बालविवाह, बोक्सी जस्ता समस्याको समाधानका लागि सामाजिक जागरण फैलाउन जरुरी रहेको बताउनुभयो ।
मधेश प्रदेशका महिला तथा बालबालिका समितिका सभापति रुपा कुमारी यादवले बालविवाह न्यूनीकरणका लागि छोरा र छोरी बीचको विभेद गर्न नहुने बताउँदै बाल विवाह गरेको भए हामीहरुले बहिष्कार गर्न जरुरी रहेको बताउनुभयो ।
जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले बालविवाह न्यूनीकरणका लागि तीनै तहका सरकार मिलेर सशक्त रुपमा अगाडी बढ्न जरुरी रहेको बताउनुभयो ।
राष्ट्रिय मानव अधिकार आयोगका मधेश प्रदेशका कार्यालय प्रमुख बुद्धनारायण साहनीले बालविवाह हुन नहुने पक्षमा मानव अधिकार आयोग दृढ भएको बताउनुभयो ।
मधेश प्रदेशका मुख्यन्यायाधिवक्ताको कार्यालयका उप–न्यायाधिवक्ता सुदिप दंगालले विद्यालयबाट भागेर विवाह गर्ने प्रवृत्ति मधेश प्रदेशमा बढेका कारणले पनि बालविवाहको मात्रा बढेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्