लगानी सम्मेलनको तयारी पूरा
विराटनगर । कोशी प्रदेश सरकारले गर्न लागेको ‘लगानी सम्मेलन’ को सम्पूर्ण तयारी पूरा भएको छ । प्रदेश लगानी प्राधिकरणद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो ।
विराटनगरको वीरेन्द्र सभागृहका सम्मेलनको उद्घाटन बिहीबार हुने छ भने यही वैशाख १९ गते सम्पन्न हुनेछ । लगानीको हिसाबले प्रचुर सम्भावना रहेको कोशी प्रदेशको समृद्धि र विकासका लागि यो सम्मेलन ऐतिहासिक एवं उपलब्धिमूलक हुने अपेक्षा आयोजकले गरेको छ ।
प्राधिकारका कार्यकारी निर्देशक डा सरोज कोइरालाले सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने र ७१ परियोजना सोकेसिङ गरिएको र यसको कूल अनुमानित लागत रु एक खर्ब ७३ अर्ब ४९ करोड अनुमान रहेको जानकारी दिनुभयो ।
उहाँले लगानीका लागि आठ क्षेत्रका परियोजनामा पर्यटन, कृषि, उद्योग, ऊर्जा, पूर्वाधार, आइटी सेवालगायतका क्षेत्रका परियोजना तयार गरिएको बताउनुभयो । यसमा नेपाल, भारत, चीन, रुस, अमेरिका, दक्षिण कोरियालगायत पश्चिमी मुलुकका लगानीकर्ताहरूले सहभागी हुने जनाइएको छ ।
लगानी सम्मेलनमा विभिन्न छ वटा विषय कृषि, पर्यटन, औद्योगिक उत्पादन, बजारीकरण, पूर्वाधार विकास, ऊर्जा र स्वास्थ्य सेवा एवं मेडिकल शिक्षामा लगानीका अवसर र सम्भावना विषयमा छलफल हुने र यसलाई सार्थक एवं नतिजामुखी बनाउन सबैको साथ सहयोगको अपेक्षा रहेको कार्यकारी निर्देशक डा कोइरालाले बताउनुभयो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले लगानी सम्मेलनको सफलतापछि प्रदेशमा रोजगारी अभिवृद्धि हुने र राष्ट्रिय पुँजीको विकास हुने धारणा राख्नुभयो । उहाँले लगानी सम्मेलनमा बाधक बन्ने कानुनहरूलाई संशोधन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले प्रदेशलाई आर्थिकरुपमा बलियो बनाउन, रोजगारी सिर्जना गर्न र सम्भावित क्षेत्रहरूको विकास गरी पर्यटक भित्र्याउन एवं उत्पादन बढाउन लगानी सम्मेलनले मद्दत गर्ने धारणा राख्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्