कोशीमा ओखलढुङ्गा प्रहरी सर्वोत्कृष्ट
ओखलढुङ्गा । कोशी प्रदेशमा ओखलढुङ्गा प्रहरी उत्कृष्ट बनेको छ । प्रदेश प्रहरी कार्यालयले प्रदेशका १४ जिल्ला र प्रदेश भित्रका अन्य ७ गरी २१ वटा प्रहरी कार्यालयमा गरेको मूल्याङ्कनमा ओखलढुङ्गा प्रहरी उत्कृष्ट बनेको हो ।

कोशी प्रदेश प्रहरी कार्यालयसँग प्रदेश भित्रका जिल्ला प्रहरी र ७ अन्य प्रहरी कार्यालयले कार्यसम्पादन सम्झौता गरेका थिए । उक्त सम्झौता अनुसार चालु आर्थिक वर्षको ९ महिनाको कार्यसम्पादन मूल्याङ्कनमा १०० मा ९३.०९ अंक प्राप्त गर्दै जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा पहिलो बनेको हो ।
प्रहरी सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाएको कामको विभागीय मूल्याङ्कन भएको ओखलढुङ्गाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कृष्ण खड्काले बताउनुभयो । गत वर्ष पनि ओखलढुङ्गा प्रहरी प्रदेशमा पहिलो बनेको थियो ।
प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको जिल्लागत मूल्याङ्कनमा ९३.०९ अंक प्राप्त गर्दै ओखलढुङ्गा पहिलो बन्दा छिमेकी जिल्ला सोलुखुम्बु ७६.९१ अंक ल्याएर सबैभन्दा कमजोर देखिएको छ ।
भोजपुरले ९२.९८, खोटाङले ९०.८५, पाँचथरले ८९.७५, धनकुटाले ८९.७०, ताप्लेजुङले ८९.६१, सुनसरीले ८८.१४, सङ्खुवासभाले ८७.८८, तेह्रथुमले ८५.५७, उदयपुरले ८५.५४, मोरङले ८५.४२, इलामले ८२.७१, झापाले ८१.०० अंक ल्याएका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालयले जिल्ला/जिल्लाका प्रहरी कार्यालयसँग वार्षिक कार्यसम्पादन सम्झौता गरेर त्यसका आधारमा मूल्याङ्कन गर्दै पृष्ठपोषण दिने गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्