तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सडक स्तरोन्नति

बागलुङ । यहाँको काठेखोला गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सडक स्तरोन्नति गरिएको छ । सो कार्यक्रममार्फत ७५ जनाले एक सय दिनको रोजगारी पाएका छन् । उनीहरूले वडा कार्यालयको साझेदारीमा सडक स्तरोन्नति गरेका छन् ।  

चालु आर्थिक वर्षमा आठवटा सडक स्तरोन्नति तथा पदमार्ग निर्माण योजना सम्पन्न भइसकेको छ । अझै आठ वटा योजना कार्यान्वयनको चरणमा छन् । जसमध्ये भिमापोखरा, बिहुँ, लेखानी, तङ्ग्राम र पालामा वडा कार्यालयको बजेट साझेदारी गरी सडक सोलिङ, ढलान तथा पदमार्ग निर्माण गरिएको छ । 

काठेखोला गाउँपालिकाका पाँच वटा वडाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत आउने ज्यालामा साझेदार गरी नमूना रुपमा सडक ढलान गरेको हो । काठेखोला गाउँपालिका–२ भिमापोखरामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमसँग साझेदारी गरी वडाले मात्रै रु २२ लाख खर्च गरेर सडक स्तरोन्नति गरिएको वडाअध्यक्ष विद्यापति शर्माले जानकारी दिनुभयो । 

वडा कार्यालयमा सूचीकृत १४६ मध्ये पहिलो चरणमा नौ जनालाई रोजगारी प्रदान गरिएकामा वडा कार्यालयले तीनवटा सडक स्तरोन्नति गरिएको शर्माले बताउनुभयो । 

काठेखोला गाउँपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन वडाको साझेदारीमा सामग्री खरिद गरेर सडक स्तरोन्नति तथा पदमार्ग निर्माण गरेको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो । थापाका अनुसार ज्यालाका लागि मात्रै प्राप्त बजेटमा वडा कार्यालयले निर्माण सामग्री र दक्ष कामदार थप्दा बजेट कार्यान्वयन प्रभावकारी बनेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button