पोषणभत्ता वृद्धि गर्न सांसदहरूको सुझाव
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा सांसदहरुले बालबालिकालाई दिँदै आएको पोषणभत्ता वृद्धि गर्न सरकारलाई सुझाव दिनुभएको छ ।
सांसद रञ्जुकुमारी झाले बालबालिकाको पोषणभत्ता वृद्धि हुनेगरी आगामी नीति तथा कार्यक्रम र बजेट ल्याउन सरकारलाई सुझाव दिनुभयो ।
सांसद माधव सापकोटाले सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ गुम्बास्थित बोल्दे आधारभूत विद्यालयका कार्यालय सहयोगी पेम्बानुर्बु तामाङलाई आन्दोलनका क्रममा हातपात भएको भन्दै आपत्ति जनाउनुभयो ।
सांसद महेश बस्नेतले इलाममा चिया उत्पादन गर्न किसानले युरिया मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले किसानलाई किबीको उचित मूल्य उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो ।
सांसद मीना तामाङ र मैना कार्कीले शिक्षकका समस्या समयमै वार्तामार्फत समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
सांसद मेनकाकुमारी पोखरेलले अभिभावकविहीन बालबालिकाका लागि सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा व्यवस्था गर्न माग गर्नुभयो ।
सांसद योगेन्द्र मण्डलले शिक्षा ऐन चाँडोभन्दा चाँडो ल्याउनुपर्नेमा जोड दिनुभयो ।
सांसद रणकुमारी बलम्पाकी मगरले बालबालिकाको भविष्यसँग खेलबाड गर्न नहुने भन्दै शिक्षक आन्दोलन बन्द गरेर समाधानको बाटो खोज्न सुझाव दिनुभयो ।
सांसद रणेन्द्र बराइलीले कर्मचारीले सर्वसाधारणलाई हैरानी दिने प्रवृत्ति नरोकिएको भन्दै आपत्ति जनाउनुभयो ।
सांसद रमा कोइराला पौडेलले विद्युत् प्राधिकरणका कर्मचारीको गैरजिम्मेवारीले सर्वसाधारणको जीवन जोखिममा परेको बताउनुभयो ।
सांसद राजेन्द्रकुमार केसीले पूर्वाधार विकासका काम वातावरणमैत्री हुन नसक्दा खानेपानीका मुहान जोखिममा रहेको बताउनुभयो ।
सांसद राजेन्द्रकुमार राईले बजेट अभावले ‘एक स्थानीय तह एक अस्पताल’ कार्यक्रम कार्यान्वयन गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद रामहरि खतिवडाले गभर्नर नियुक्तिको प्रक्रिया तत्काल अगाडि बढाउन सरकारसँग माग गर्नुभयो ।
यसैगरी, सांसदहरु रामकुमार राई, रामकिशोर यादव, रुपा सोशी (चौधरी), रेखा शर्मा, लेखनाथ दाहाल, बिजुला रायमाझी र रोशन कार्कीले शिक्षकहरूसँग वार्ता गर्न ढिला गर्न नहुने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्