तपाईँ सुन्दै हुनुहुन्छः

गर्मी बढेसँगै बाँकेसहित तराईका जिल्लामा तरबुजाको व्यापार बढ्यो

बाँके । गर्मी बढेसँगै बाँकेसहित तराईका जिल्लामा तरबुजाको व्यापार बढेको छ । 

बाँकेको नेपालगञ्ज, कोहलपुर र खजुरा बजार क्षेत्रमा तरबुजाको ब्यापार बढेको हो । 

नेपालगञ्जका चोक, चौतारामा तरबुजा राखेर बिक्री गर्नेहरू बढेका छन् । बैशाख लागेदेखि गर्मी बढ्दै गइरहेको तराईका जिल्लामा अब साउन–भदौमा लगातार झरी नपरुन्जेलसम्म तरबुजाको राम्रो व्यापार हुने गर्दछ । 

वैशाखको मध्य देखिनै गर्मी बढेसँगै डुडुवा गाउँपालिका र भारतका विभिन्न बजारबाट तरबुजा ल्याएर बिक्री गर्न शुरु गरेको व्यापारी नइम राईले बताउनुभयो  । नेपालगञ्जको सडक र गल्लीमा डुलेर ठेलामा ब्यापार गर्दै आउनुभएका राईले अब गर्मीयामभर यसैको व्यापार गरेर परिवारको गुजारा चलाउने बताउनुभयो । जाडो याममा अन्य काम गर्ने र गर्मी लागेपछि तरबुजा बेच्ने गरेको उहाँको भनाइ छ । 

नेपालगञ्जमा अहिले तरबुजा प्रतिकेजी ५० रुपैयाँमा बिक्री भइरहेको छ । गाउँ गाउँबाट बजार आउने सर्वसाधारणले शीतलताका लागि यो मौसममा तरबुजा किनेर लैजाने गरेका छन् । नेपालगञ्जको विभिन्न ठाउँमा एक दर्जनभन्दा बढी व्यापारीले तरबुजा बिक्री गरिरहेका छन् । 

व्यापारीहरूका अनुसार डुडुवाको वडा नं. ४ कम्दी, सीमावर्ती भारतीय बजार रुपईडिहा र नानपाराबाट तरबुजा यहाँ ल्याएर बिक्री गर्ने गरिन्छ । सडक किनारमा ठेला राखेर तथा फलफूल पसलमा समेत तरबुजा बिक्री गर्ने गरिएको छ । 

बाँकेको राप्ती बगरमा उत्पादित तरबुजा र तरकारीमा विषादी परीक्षण र नियमनबारे सरकारी निकाय अनभिज्ञ जस्तै छन् । स्थानीयवासीले विषादी परिक्षण गर्न माग गरे पनि सरकारी निकाय मौन बनेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button