पोखराका अधिकांश सडकमा खाल्डाखुल्डी

पोखरा । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाईडसँगै पोखराका अधिकांश सडकमा खाल्डाखुल्डी परेका छन् ।
पोखराका धेरै लामो समयदेखि सडक मर्मत संहार नभएकोले सडकमा देखिएका साना खाल्डाखुल्डीहरू बढ्दै हाल ठुलाठुला खाल्डाखुल्डी परेको स्थानीयले गुनासो गरेका छन् ।
पोखरा महानगरपालिकाले यस बर्ष भ्रमण बर्ष २०२५ को घोषणासहित २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकोमा पोखराको सडक क्षेत्र हाल निकै धेरै ठाउँहरूमा खाल्डाखुल्डी परेको स्थानीय शिव देवकोटाले बताउनुभयो ।
पोखराका होटल व्यवसायी देवकोटाले पोखरा भ्रमण बर्ष २०२५ को अवसरमा कम्तीमा सडकमा भएका खाल्डाखुल्डी तत्काल पुरपार तथा सडक मर्मत संहार गर्न माग उहाँले गर्नुभयो ।

पोखराको सडक क्षेत्रमा खाल्डाखुल्डी हुँदा सडक मार्ग तथा हवाई मार्ग हँुदै पोखरा आउने पर्यटकहरूले समेत कठिन यात्रा गर्नुपरेको तथा सडक जोखिम भएको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताउनुभयो । “पर्यटनको राजधानी पोखरा त्यसमाथि पनि पोखरा भ्रमण बर्ष यो अवस्थामा चौबिस घण्टामा सडकमा देखिएका खाल्डाखुल्डी पुर्नुपर्नेमा यस विषयमा पोखरा महानगर मौन रहेको छ ।”, उहाँले भन्नुभयो
पोखराको सडकमा सवारी दुर्घटनाको अर्को कारक अव्यवस्थित तार समेत रहेको उहाँले जनाउनुभयो । केही व्यक्तिहरू तारमा अल्झिएर घाइते भएको अध्यक्ष आचार्यले बताउनुभयो ।
पोखराको लेकसाईड, सेतीबगर, खपौदी, पृथ्बीचोक, पार्दी बिरौटा, महेन्द्रपुलसहितका सडक क्षेत्रमा ठाउँ ठाउँमा खाल्टाखुल्टी हुँदा स्थानीयहरू समेत त्यसबाट गर्मीमा धुलो र पानी पर्दा भने हिलोको समस्याले आफूहरूलाई असर परेको गुनासो गरेका छन् ।

पोखरा महानगरपालिका र सडक डिभिजन कार्यालय पोखराले पोखरा क्षेत्र भित्रको सडक मर्मत संहार गर्ने जिम्मा पाएका निकायबाट समयमै साना साना खाल्डाखुल्डी टालटुल पार्न नसक्दा बिस्तारै खाल्टाखुल्टी बढ्दै गएर सडकमा सवारी साधन चलाउन समेत आफूहरूलाई ठुलो समस्या आउन थालेको एक ट्याक्सी चालक अर्जुन पौडेलले बताउनुभयो ।
यस विषयमा पोखरा महानगरपालिकाले आउँदो बैठकमा यो विषयको समेत उठान गर्ने भएको छ । महानगरको शहरी विकास पर्यटन, वन तथा वातावरण महाशाखा प्रमुख ई.बिमल रन्जन कार्कीले यस विषयमा आफूलाई बल्ल जानकारी भएकोले अब यस विषयमा छलफल गर्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्