तपाईँ सुन्दै हुनुहुन्छः

स्रोत सुनिश्चित गरी स्वास्थ्य बिमालाई व्यवस्थित र प्रभावकारी बनाइने : स्वास्थ्यमन्त्री पौडेल

भक्तपुर । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाका लागि स्रोत सुनिश्चित गरी व्यवस्थित र प्रभावकारी बनाउने योजनामा सरकार रहेको बताउनुभएको छ ।

आज नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको १७ औँ स्थापना दिवस समारोहमा बोल्दै स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य बिमा प्रणालीलाई समृद्ध, व्यवस्थित र नागरिकमैत्री बनाइने बताउनुभयो ।

उहाँले विभिन्न निकाय तथा मन्त्रालयमार्फत छरिएर सञ्चालन भइरहेका स्वास्थ्य सहायता तथा राहत कार्यक्रमहरूलाई एउटै संरचनाभित्र समेटेर एकीकृत व्यवस्थापन गर्न लागिएको जानकारी दिनुभयो ।

मन्त्री पौडेलले शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात र शान्ति सुरक्षामा राज्यको पूर्ण दायित्व सुनिश्चित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले स्वास्थ्य सेवा सुधारका लागि व्यवस्थापकीय पक्षमा आमूल परिवर्तनको खाँचो रहेको बताउनुभयो ।

राजनीतिक दलहरूले आफ्ना दस्ताबेजमा निःशुल्क स्वास्थ्य सेवाको कुरा उठाई रहेको बताउँदै स्वास्थ्यमन्त्री पौडेलले मौखिक प्रतिबद्धता अनुरुप नागरिकले महसुस गर्ने गरी स्वास्थ्य सेवा सुधारिन नसकेको बताउनुभयो ।

राज्यको प्राथमिकतामा स्वास्थ्य सेवालाई राख्नुपर्नेमा जोड दिँदै उहाँले निःशुल्क स्वास्थ्य सेवामा गरिएको बजेट खर्च नभएर लगानी हो भन्नुभयो । लगानी अनुसार अधिकतम् प्रतिफल हासिल गर्ने अवस्था निर्माण गर्न सबै पक्षले सहकार्य गरेर जानुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले अस्पतालको सेवा बिस्तारको लागि नगरपालिकाले संघ र प्रदेश सरकारसँग समन्वय गरिरहेको बताउनुभयो ।

अस्पतालका कार्यकारी निर्देशक डा.डि.के.रोशनले अस्पतालले दैनिक एक हजार भन्दा बढी बिरामीलाई उपचार सेवा प्रदान गरिरहेको बताउँदै देशकै अब्बल अस्पताल बनाउने लक्ष्यका साथ अघि बढिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका पूर्व प्रमुख मदनकृष्ण श्रेष्ठ, नेकपा माओवादीका नेता दिलीप प्रजापति ,अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका सदस्य हरीदास प्रजापति लगायतले अस्पतालका विविध पक्षबारे चर्चा गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button