तपाईँ सुन्दै हुनुहुन्छः

सुरक्षित नेपाल निर्माण गर्ने अभियानमा सरकार: प्रम ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले  सरकार प्राकृतिक विपत्तिबाट पनि सुरक्षित नेपाल निर्माण गर्ने अभियानमा लागेको बताउनुभएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गोरखा भूकम्पको दशौँ स्मृति दिवसका अवसरमा धरहरा परिसरमा आयोजना गरेको सभामा प्रधानमन्त्री ओलीले सरकारले जनता आवास कार्यक्रमअन्तर्गत सुरक्षित एकीकृत वस्ति निर्माण गर्न कानून निर्माण गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । 

प्रधानमन्त्री ओलीले गोरखा भूकम्पमा परि पुरातात्त्विक र ऐतिहासिक धरहरालगायत लाखौँ संरचनाहरू भत्किएको अवस्थामा नेपालले असाधारण पुन निर्माणको काम सम्पन्न गरेको बताउनुभयो । 

अवसरमा प्रधानमन्त्री ओलीले २०७२ को भूकम्पले क्षति पुर्‍याएका संरचनाहरूको असाधारण पुनर्निर्माण भएको स्मरण गर्दै यस कार्यमा सहयोग गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई धन्यवाद ज्ञापन गर्नुभयो । 

सभामा गृहमन्त्री रमेश लेखकले सरकार जुनसुकै विपद् जोखिम न्युनिकरण र सामना गर्नका लागि आवश्यक काम गरिरहेको बताउनुभयो । 

गृहमन्त्री लेखकले नेपाल भूकम्पको उच्च जोखिममा रहेकाले  संरचनाहरू निर्माण गर्दा भवन संहिता अनिवार्य पालना गर्नुपर्नेमा जोड दिनुभयो । 

सभामा प्राधिकरणका कार्यकारी प्रमुख डा. भीष्मकुमार भुषालले विपद् व्यवस्थापनका लागि प्राधिकरणले सूचना प्रविधिको प्रयोगमार्फत निरन्तर काम गरिरहेको जानकारी गराउनुभयो । 

यस अवसरमा धरहरा परिसरमा २०७२ को भूकम्पमा परि ज्यान गुमाउनेहरूको सम्झनामा प्रधानमन्त्री, गृहमन्त्री, शहरी विकामन्त्रीलगायतले दीप प्रज्वलन गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button