तपाईँ सुन्दै हुनुहुन्छः

लोकतन्त्रलाई बचाएर राख्न जनआन्दोलनमा सक्रिय सबै दल एक ठाउँ उभिनुपर्छ: उपप्रधानमन्त्री सिंह

भक्तपुर । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सङ्घर्ष गर्दै ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सबै मिलेर जोगाउनुपर्ने बताउनुभएको छ । 

पुर्वमन्त्री स्व.जगन्नाथ आचार्यको १०२ औं जन्मजयन्तीका अवसरमा  आज भक्तपुरमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले विगतमा गरिएका जनआन्दोलनबाट प्राप्त उपलब्धि जोगाउन जनआन्दोलनमा सक्रिय सबै दलहरू एक ठाउँमा उभिनुपर्ने बताउनभयो ।

उपप्रधानमन्त्री सिंहले २०४६ सालको आन्दोलन होस् या २०६२÷६३ को जनआन्दोलन सबै दलहरू एक ठाउँमा उभिएर संर्घष गर्दै ल्याएको व्यवस्था भएकाले सबै मिलेर जोगाउनुपर्नेमा जोड दिनुभयो ।

जनताको सङ्घर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढेको बताउँदै उहाँले धेरै त्याग र बलिदान गरेर ल्याएको लोकतन्त्रलाई बचाएर राख्नु हाम्रो दायित्व  भएको बताउनुभयो ।

अधिकार मात्र माग्ने तर कर्तव्य पुरा नगर्नाले जनआन्दोलनबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढेको उहाँको भनाई थियो ।

अहिलेका युवाहरू लहैलहैमा लाग्दा मुस्किलले प्राप्त गरेको अधिकार गुम्न सक्ने प्रति सजग रहन समेत उपप्रधानमन्त्री सिंहले आग्रह गर्नुभयो ।

कार्यक्रममा पुर्वमन्त्री ढुण्डीराज शास्त्री र नेपाली कांग्रेस भक्तपुरका पूर्व जिल्ला सभापति तिलकप्रकाश कायस्थ लगायतलाई सम्मान गरिएको थियो ।

सो अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ,नेपाल तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष बिनोद कायस्थ र जगन्नाथ आचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष बिनोद आचार्य लगायतले  पुर्वमन्त्री स्व.आचार्यले प्रजातान्त्रिक आन्दोलनमा खेलेको भूमिकाको चर्चा गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button