सौराहाका निजी हात्ती व्यवस्थापन गर्न कार्यदल: मन्त्री ठकुरी

चितवन । नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले सौराहामा सफारीमा प्रयोग हुँदै आएका निजी हात्तीको व्यवस्थापनको लागि सरकारले कार्यदल बनाएर काम सुरु गरेको बताउनु भएको छ ।
पूर्वी चितवनको एक संरक्षित वन र चार वटा सामुदायिक वनमा जिप सफारी उद्घाटन गर्दै मन्त्री ठकुरीले जङ्गली हात्तीको नियन्त्रण र निजी हात्तीको व्यवस्थापनको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्य संयोजक रहेको कार्यदल बनाएको बताउनु भयो । उहाँले कार्यदलले पहिलो चरणको काम समेत सुरु गरिसकेको जानकारी दिनुभयो । सौराहामा सफारीमा प्रयोग हुने पोथी हात्तीका कारण बस्तीमा जङ्गली हात्ती प्रवेश गरेको निष्कर्ष सहित शरदकुमार चौधरी संयोजक रहेको सङ्घर्ष समिति बनाएर हात्ती व्यवस्थापनको लागि सरकारले दबाब दिइँदै आएको छ ।
जनस्तरबाट आएको विषयलाई सरकारले गम्भीर रुपमा लिएको भन्दै मन्त्री ठकुरीले हात्ती व्यवस्थापनको काम टुङ्गोमा पुग्ने बताउनु भयो । वन, वन्यजन्तु र वनस्पतिलाई पर्यटनसँग जोडेर स्थानीय समुदायको जीवन स्तर उकास्ने गरी राष्ट्रिय वनहरूको उपयोग गर्ने नीति सरकारले लिएको स्पष्ट पार्नु भयो ।
वन ऐन, नियमावलीले गरेको बन्देज फुकुवा गरी वनको उपयोग र पर्यटन मार्फत जीविकोपार्जन तथा जीवनस्तर उकास्ने सरकारको उद्देश्य रहेको उहाँको भनाई थियो । मध्यवर्ती क्षेत्रमा अनेकन समस्या रहेको भन्दै उनले नियमावली संशोधन गरेर मध्यवर्तीका समस्या हल गर्दै लैजाने बताउनु भयो ।
मन्त्री ठकुरीले जैविक सम्पदाको संरक्षण र उपयोग गरी रोजगारी सिर्जना गर्ने समेत बताउनु भयो । पर्यटन क्षेत्रले रोजगारीको ठुलो हिस्सा ओगटेको भन्दै उनले पर्यटन विकासको लागि जैविक विविधताको उपयोग गर्ने बताउनु भयो । ‘भावी सन्ततिको लागि वन सम्पदा जोगाउनु पर्छ, उहाँले भन्नुभयो, यसका लागि सबैको सहयोग अपरिहार्य छ ।’ निकुञ्ज, नेपाली सेना र समुदायको त्रिपक्षीय सहकार्यले चितवन निकुञ्जको संरक्षणको काम उदाहरणीय सावित भएको भन्दै उहाँले वन उपयोगको नीतिले यसलाई अझै बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्