तपाईँ सुन्दै हुनुहुन्छः

विहार पुर्‍याएका ९ जना वालकलाई उद्धार गरि अभिभावकको जिम्मा

oplus_2

जनकपुरधाम । भारतीय दलालले सामाजिक सञ्जालको प्रयोग गरेर विभिन्न प्रलोभन देखाएर भारतको विहार पुर्‍याएका ९ जना बालकलाई उद्धार गरि नेपाल ल्याई आज अभिभावकको जिम्मा लगाउने काम भएको छ ।

भारतको पूर्वी चम्पारनमा नेटवर्किङ व्यवसायमा लगाएका ९ जना नेपाली बालक सहित ५ सय ६८ जनालाई भारतीय सुरक्षा निकायको सक्रियतामा दिल्ली स्थित किंग इन्डिया नामक गैरसरकारी संस्थाको सहयोगमा उद्धार गरेर नेपाल ल्याई अभिभावकको जिम्मा लगाएको हो । 

उद्धार भएर नेपाल ल्याइएका ९ जना बालकहरूको उमेर १३ देखि १७ वर्षका रहेका छन् । राष्ट्रिय बालअधिकार परिषद् अन्तर्गत सञ्चालित प्रदेश बालबालिका खोजतलास समन्वय केन्द्र १०४ जनकपुरधामको सहकार्यमा सम्बन्धित वालकको अभिभावकलाई प्रहरीको रोहवरमा जिल्ला लगाउने काम भएको केन्द्रका प्रदेश अधिकृत सञ्जीव महतोले जानकारी दिनु भयो । 

भारतबाट उद्धार गरेर ल्याइएका वालकहरूमा धनुषाको धनौजी गाउँपालिका वडा नंं ५ बौहर्वाका वर्ष १३ को सल्लाउद्दीन राईन, मिथिला विहारी नगरपालिकाका वर्ष १६ का मुस्तुफा राईन, धनुषाधाम वडा नंं २ का वर्ष १७ का लक्ष्मण कुमार मण्डल, जनकपुरधाम उपमहानगरपालिका वडा नंं २० रुपैठा घर भएका वर्ष १७ का दिलसाद शेख, सोही ठाउँका वर्ष १४ का अताबुल राईन रहेका छन् । 

उद्धार गरेर अभिभावकको जिम्मा लगाइएका अन्य वालकहरूमा महोत्तरीको जलेश्वर ७ महादेव पट्टीका रविकुमार राम, सोही जिल्लाको गौशाला नगरपालिका वडा नंं १२ बस्ने वर्ष १६ का अमरेश कुमार राम, सिरहा जिल्लाका नरहा गाउँपालिका वडा नंं १ बस्ने वर्ष १७ का रविकुमार दास र हराएर भारत पुगेका रौतहट जिल्लाको गमहरीया घर भएका वर्ष १४ का पूँजन माझी रहेका छन् ।  

उनीहरुलाई राम्रो काममा लगाई दिने प्रलोभन देखाएर जनही १८ हजार देखि २० हजार रकम लिनुका साथै एकले अर्कोलाई ल्याउनका लागि प्रोत्साहित गरेर नेपालबाट मगाउने काम गर्दै आएका थिए । भारतीय प्रहरीले सो कार्यमा संलग्न भएका ५ जनालाई पक्राउ गर्नुका साथै अन्य फरार भएकाहरूको खोजी गरिरहेको किंग इन्डियाका निर्देशक नवीन जोशीले जानकारी दिनु भयो ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button