भारतमा विक्रीका लागि लगिएका आमा छोरीसहित तीन जनाको उद्धार
गोरखा । भारततर्फ बेच्न लाँदै गरेका तीन महिलाहरूको मङ्गलवार उद्धार गरिएको छ । आरुघाट गाउँपालिकाकी ३७ बर्षीय महिला, उनी छोरी र छोरीकी साथीलाई विशेष सुराकीका आधारमा वीरगंजबाट उद्धार गरी ल्याएको प्रहरीले जनाएको छ ।
आरूघाट गाउँपालिका बस्ने ३७ बर्षकी एक महिलालाई बिगत २, ३ दिनदेखि राजेश राजेश नाम गरेको फेसबुक साथीले भारतमा आकर्षक जागिर लगाइदिने प्रलोभन देखाई निज र निजकी १५ बर्षकी छोरी तथा छोरीका १५ वर्षका साथीहरू समेतलाई भारततर्फ लैजाँदै गरेको थाहा पाए लगतै प्रहरीले उद्धार प्रक्रिया अगाडि बढाएको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बताउनुभयो । ग्लुस्टिक प्याकेजिङ गर्ने काममा लगाइदिने, काम सजिलो, तलब पनि धेरै हुने भन्दै लोभ्याएर लैजाँदै गरेको उनीहरूले जानकारी दिएका छन् ।
दुई बालिका र एउटा छोरी मान्छेको गतिविधि बारेमा शङ्का लागेर गोरखा आरुघाट रुटमा चल्ने बसका चालकले प्रहरीलाई खबर गरेका थिए । उनले दिएको सूचनाका आधारमा प्रहरीले पछ्याउँदै गएर विरगंज पुगेर उनीहरूको उद्धार भएको हो ।
इप्रका आरुघाट, जि.प्र.का. गोरखा, इ.प्र.का. आँबुखैरेनी, जि.प्र.का. पर्साको समन्वय र सहकार्यमा उनीहरुलाई गत मङ्गलवार वीरगञ्जबाट नियन्त्रणमा लिन सफल भएका थिए ।
ती तीन महिलाहरूलाई जिप्रका गोरखाले आफन्तको जिम्मा लगाइसकेको जनाएको छ । राजेश राजेश नामको फेसबुक एकाउन्ट चलाउने व्यक्तिको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक शर्माले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्