तपाईँ सुन्दै हुनुहुन्छः

काभ्रेमा रगतको चरम अभाव : बिरामी समस्यामा

काभ्रेपलाञ्चोक । बनेपास्थित नेपाल रेडक्रस सोसाइटी काभ्रेको रक्त सञ्चार सेवा केन्द्रमा रगत मौज्दात शून्य अवस्थामा रहेको छ । बिरामीका लागि स्थानीय नागरिक तथा अस्पतालद्वारा रगत लिन आज  केन्द्रमा पुग्दा केन्द्रले  एक युनिट रगतसमेत दिन नसकेको जनाइएको छ । 

केन्द्रमै केही दिनदेखि रगत अभाव भएको बताइएको छ । “केन्द्रमा एक युनिट रगत पनि छैन, जिल्लाका अस्पताल र व्यक्तिबाट माग भइरहेको छ”, केन्द्रका ‘स्टोर इन्चार्ज’ गोकुल बानियाँले भन्नुभयो । उहाँका अनुसार रगतका लागि बिहीबार बिहानैदेखि केन्द्रमा लगातार फोन आइरहेको छ । रगतको मुख्य बैंकका रुपमा रहेको  नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालितको उक्त केन्द्रमा रगत नहुँदा निकै समस्या भइरहेको उहाँले बताउनुभयो । रेडक्रसले सात सय युनिट रगत भण्डारण क्षमताको केन्द्र सञ्चालन गर्दै आएको छ । 

जिल्लामा नियमित रूपमा रक्तदाता नहुनुले पनि रगतको अभाव भइरहेको जनाइएको छ । केही दिनयता जिल्लामा रगत अभाव हुनथालेको हो । रगत दान गर्नेभन्दा रगत लिनेको सङ्ख्या बढ्नथालेपछि रगत अभाव हुनथालेको केन्द्रले जनाएको हो । रक्तदान कार्यक्रम कम भएका कारण पनि रगत अभाव देखिएको रेडक्रस काभ्रेले जनाएको छ । 

केन्द्र प्रमुख राधा थापाका अनुसार हाल केन्द्रमा रगतको अभाव पूर्ति गर्न कठिनाइ भइरहेको छ । “कहिलेकाहीँ सम्पर्कमा रहेका रक्तदातालाई अनुरोध गरेर बिरामीका आफन्तसँग समन्वय गराउँछौँ, अन्यथा निकै कठिन भइरहेको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार केन्द्रमा ‘ए–पोजेटिभ’, ‘बी–पोजेटिभ’, ‘एबी–पोजेटिभ’ र ‘ओ–पोजेटिभ’लगायत सबै प्रकारको रगतको माग भएको हो । रगत अभाव हुनथालेपछि बिरामीहरू समस्यामा परेका छन् । 

काभ्रेमा रगत अभाव भएपछि केही हप्तादेखि भक्तपुर र काठमाडाँैबाट रगत पूर्ति गर्नुपर्ने बाध्यता रहेपनि पछिल्ला दिनदेखि ती दुई जिल्लामा रगत अभाव भएको खबर प्राप्त भएको ‘स्टोर इन्चार्ज’ बानियाँले बताउनुभयो । जिल्लामा आधा दर्जन अस्पताल तथा एक दर्जन क्लिनिक सञ्चालनमा छन् । जिल्लाका सबै अस्पतालमा सामान्यदेखि विशिष्ट खालका शल्यक्रियासमेत हुने गरेका छन् । शल्यक्रियाका क्रममा रगतको आवश्यकता पर्ने भएकाले बिरामीलाई आवश्यकता पर्ने ग्रुपको रगत नहुँदा अस्पतालका साथै बिरामीका आफन्त लाईसमेत समस्या हुने गरेको पाइएको छ । 

काभ्रेमा सञ्चालित अस्पतालमा छिमेकी जिल्ला सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखा तथा ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुरसँगै मधेस र भित्री मधेसका विभिन्न जिल्लाबाट बिरामी उपचार गर्न आउँछन् । अस्पतालमा बिरामीको चाप बढेसँगै रगत अभावको समस्या चुलिएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button