सरकार सञ्चालनमा समस्या छैन : गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार सञ्चालनमा कुनै समस्या नरहेको स्पष्ट पार्नुभएको छ । नयाँ वर्ष २०८२ को सन्दर्भ पारेर आज सुरक्षा विटमा कार्यरत पत्रकारसँगको भेटमा उहाँले शिक्षा मन्त्रीको राजीनामा र गभर्नर नियुक्तिको विषयलाई लिएर सत्ता साझेदारीमा कुनै आशङ्का नगर्न आग्रह गर्नुभयो ।

“सरकारमा कुनै त्यस्तो समस्या छैन, गभर्नर सिफारिसका लागि गठन भएको सर्च कमिटीको एक सदस्यले राजीनामा गर्नुभएको छ । फेरि त्यसलाई पूर्णता दिएर अघि बढ्नुपर्ने हुन्छ । आउँदो मन्त्रिपरिषद् बैठकमा छलफल गरेर त्यसलाई पूर्णता दिन्छौँ”, सञ्चारकर्मीको जिज्ञासामा उहाँले भन्नुभयो ।
गृहमन्त्रीले सुदृढ शान्ति सुरक्षा, सक्षम गृह प्रशासन र साधनस्रोत सम्पन्न सुरक्षा निकाय सदैव आफ्नो प्राथमिकतामा रहेको स्पष्ट पार्नुभयो । उहाँले कानुनी र नीतिगत सुधारलाई पनि आफूले सँगसँगै अघि बढाइरहेको बताउनुभयो ।
नीतिगत र कानुनी सुधार आफ्नो प्राथमिकतामा रहेको स्पष्ट पार्दै मन्त्री लेखकले नीतिगत सुधार नभएसम्म सुशासनको कल्पना गर्न नसकिने बताउनुभयो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी ऐन छलफलका लागि संसदीय समितिमा पुगिसकेका जानकारी दिँदै उहाँले मन्त्रालय जग्गा प्राप्ति, संस्था दर्ता र समाज कल्याणसम्बन्धी ऐन परिमार्जनको तयारीमा जुटेको बताउनुभयो ।
मातहतका निकायबाट कार्यसम्पादनका क्रममा कहिलेकाहीँ कमजोरी हुन सक्ने स्वीकार्दै उहाँले त्यसबाट सिकेर अगाडि बढिने स्पष्ट पार्नुभयो । लोकतन्त्रमा आलोचना स्वीकार्य भएको जनाउँदै नेपाली कांग्रेसका नेता लेखकले कमीकमजोरी औँल्याइदिएर सहयोग गर्न सञ्चार जगत्सँग आग्रह गर्नुभयो ।
गृहमन्त्री लेखकले गत चैत १५ गते राजधानीको तीनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनको छानबिन भइरहेको जानकारी दिनुभयो । उहाँले सुरक्षा व्यवस्था कायम गर्न अपनाइएका विधिका बारेमा पनि प्रहरीले आन्तरिक छानबिन गरिरहेको स्पष्ट पार्नुभयो ।
मन्त्री लेखकले भारतको कश्मीर क्षेत्रमा भएको घटनामा नेपाली युवा सन्दिप न्यौपानेको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको जानकारी दिनुभयो । नेपालमै इन्जिनियरिङ अध्ययन गरिरहेका न्यौपानेको पारिवारिक भ्रमणमा रहेका बेला आक्रमणमा परेर निधन भएको बताउनुभयो ।
उहाँले घटनाका बारेमा यथार्थ बुझ्न दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्