सदनमा विद्यालय शिक्षा विधेयकलाई प्राथमिकताका साथ पारित गर्नुपर्ने दायित्व : सभामुख
'सार्वजनिक बिदा बाहेकका सबै दिनमा संसद बैठक सञ्चालन गरिने'
काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदमा शिक्षा विधेयकलाई प्राथमिकताका साथ पारित गर्नु पर्ने दायित्व रहेको बताउनुभएको छ ।
आज विभिन्न राजनीतिक दलका प्रमुख सचेतकहरूसँग समसामयिक राजनीतिक विषयमा छलफल गर्न आयोजना गरिएको बैठकमा सभामुख घिमिरेले सो धारणा व्यक्त गर्नुभएको हो ।

बैठकमा सभामुख घिमिरेले पूर्व बजेटका विषयमा छलफल गर्नु भयो त्यस्तै बैठकमा नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद् सञ्चालन गर्ने प्रस्ताव गर्नुभएको थियो ।उक्त प्रस्तावलाई बैठकले अनुमोदन गरेको छ भने सोहीबमोजिमको क्यालेन्डरबारे वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेस हुनेछ ।
बैठकलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संसद्लाई सरकारको नीति तथा कार्यक्रम, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्था बमोजिम पूर्व बजेट छलफल तथा बजेटको चाप परेको धारणा ब्यक्त गर्नुभयो।
विद्यालय शिक्षा विधेयकलाई पनि प्राथमिकताका साथ पारित गर्नुपर्ने दायित्व संसद्को रहेको बताउँदै उहाँले आन्दोलनमा रहेका शिक्षकहरूले ऐन नलिई नजाने बताएको स्मरण गराउनुभयो ।
उपसमितिले वैशाख २३ सम्मको समयावधिभित्रै प्रतिवेदन बुझाउने प्रतिबद्धता जनाएको अवस्थामा यसलाई प्राथमिकता दिने गरी संसदले तयारी गरेको जानकारी दिँदै उहाँले जुनसुकै दिन विधेयक संसदमा प्रस्तुत गर्ने गरी क्यालेन्डरमा सुरक्षित गर्ने बताउनुभयो ।
समितिको प्रतिवेदन आए लगत्तै संसदले पारित गर्ने प्रक्रिया सुरु गर्ने जानकारी दिँदै उहाँले निजामती विधेयक पनि समितिबाट आउने अवस्थामा रहेको जानकारी दिनुभयो ।
सभामुख घिमिरेले नीति तथा कार्यक्रम र बजेटका प्राविधिक सीमालाई ध्यान दिँदै शिक्षा, निजामती लगायतका विधेयक यही अधिवेशनमा पारित गर्न तयारी अवस्थामा रहनुपर्ने धारणा व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्