कर्मचारी परिचालन गरेरै भएपनि कक्षा १२ को परीक्षा निर्धारित मितिमा सञ्चालन गरिने

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले शिक्षक सहभागी नभए निजामती कर्मचारी परिचालन गरेरै भए पनि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।
परीक्षाबारे अन्योल सिर्जना भइरहँदा बोर्डले शिक्षक सहभागी नभए निजामती कर्मचारी परिचालन गरेरै भए पनि तोकिएकै समय र मितिमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिनुभयो ।
बोर्डको आज बसेको बैठकले परीक्षा सार्दा गलत सन्देश जाने तथा विद्यार्थीको समय खेर जाने तर्क सहित परीक्षा नरोक्ने निर्णय गरेको हो ।
प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला परीक्षा समन्वय समितिलाई जिम्मेवारी दिएर परीक्षा सञ्चालन गर्ने निर्णय भएको नियन्त्रक शर्माले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारीले प्रत्येक परीक्षा केन्द्रमा जिल्लास्थित निजामती कर्मचारीलाई परिचालन गरेर निर्धारित समयमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
बोर्डले तीनै तहका सरकारी संयन्त्र लगाएर परीक्षा लिने र रातभरि पनि काम गरेर परीक्षाको सबै तयारी गर्ने परीक्षा नियन्त्रक कृष्ण शर्माले बताउनुभयो ।
बिहान बसेको बोर्ड बैठकले परीक्षा नरोक्ने निर्णय गरे पछि त्यसलगत्तै द्रुत गतिमा काम थालेको शर्माको भनाइ छ ।
आन्दोलनरत शिक्षकसमेत सहभागी हुनसक्ने अपेक्षा गर्दा निर्णय ढिलाइ हुन पुगेको बोर्डको भनाई छ ।
प्रभावकारी रूपमा परीक्षा सञ्चालन गर्न सबै तहबाट सहयोग पाउने बोर्डले विश्वास लिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयो ।
परीक्षा त इतिहासमै यसरी रोकिएको थाहा छैन भन्दै परीक्षा नियन्त्रक कृष्ण शर्माले परीक्षाका लागि तीनवटै सरकारले आफ्ना स्रोत र साधन प्रयोग गर्न पाउने सुविधा बोर्डले दिएको बताउनुभयो ।
फेरि परीक्षा सकेपछि शिक्षकले आफ्ना मागहरू राख्न सक्ने बोर्डले जनाएको छ ।
आन्दोलनमा सहभागी नभएका शिक्षकलाई परीक्षा केन्द्रमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष बनाउने र त्यस्तो अवस्था नभएका केन्द्रमा प्रमुख जिल्ला अधिकारीले नै निर्णय गरेर व्यवस्थापन गर्ने गरी परीक्षा सञ्चालन गरिने भएको छ ।
बोर्ड बैठकले आन्दोलनरत शिक्षकलाई कक्षा १२ को परीक्षा सञ्चालन गर्नलाई सहयोग गर्न पनि आह्वान गरेको छ ।
यसवर्ष कक्षा १२ को परीक्षामा करिब पाँच लाख विद्यार्थी सहभागी हुँदैछन् ।शिक्षकहरू भने विद्यालय शिक्षा विधेयक जारी नभएसम्म विद्यालय नफर्किने अडानमा छन् ।
नेपाल शिक्षक महासङ्घले परीक्षामा असहयोग गर्ने निर्णय गरे पछि परीक्षा हुने नहुने अन्योलका बिच बोर्डले यस्तो निर्णय गरेको हो ।
परीक्षा पर्सी बिहीबार वैशाख ११ गते देखि शुरु हुँदै छ । यता परीक्षाको व्यवस्थापन र सञ्चालनमा सहयोग गर्ने शिक्षकहरू भने २१ दिनदेखि सडक आन्दोलनमा रहेका छन् भने शिक्षा क्षेत्रमा अन्यौल भइरहँदा हिजो मात्रै शिक्षामन्त्री बिद्या भट्टराईले राजीनामा दिनुभएको छ ।
शिक्षक महासङ्घको आन्दोलनकाबीच पनि निर्धारित मितिमै परीक्षा गर्ने पूर्ववत् अडानमा रहेको बोर्डले परीक्षाको तयारीलाई धैर्यतापूर्वक निरन्तरता दिन सम्पुर्ण विद्यार्थीमा अनुरोध गरेको छ ।
सहज वातावरणमा परीक्षा सञ्चालनका लागि समन्वय र सहकार्य गर्न अभिभावक,शिक्षक प्रधानाध्यापक एवं सरोकारवाला सबैलाई बोर्डले अपिल गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्