तपाईँ सुन्दै हुनुहुन्छः

प्रकाश सपूत र इन्द्रेणी समूहले नगरकोटमा हजारौँ पर्यटकलाई नचाए

भक्तपुर । चर्चित गायक प्रकाश सपूतले नगरकोटमा हजारौँ पर्यटकलाई नचाएका छन् । नगरकोट भ्रमण वर्ष उद्घाटन महोत्सवको तेस्रो र अन्तिम दिन बतासे डाँडामा मध्यान्हसँगै आन्तरिक र विदेशी पर्यटक उनको आकर्षक गायकीसँगै झुमेका छन् ।

‘कानमा झुम्कना, तिमीलाई कल्ले किन्दियो, 
नाकको बुलाकी तिम्लाई कल्ले किन्दियो
पाउँमा लाको पाउजु, हातमा सुनको चुरा 
तिमीलाई कल्ले किन्दियो
हे फूलमया, हे फूलमया’……….।

जब स्टेजमा गायक सपुत उक्लिए, एकाएक माहोल तात्यो । त्यसपछि सुरु गरे प्रकाशले गीतका झन्कार र बान्कीहरु । दर्शक दीर्घामा रहेका पर्यटकहरू नतमस्तक भएर नाच्न थाले । स्टेजमा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, मण्डन देउपुरका नगर प्रमुख टोकबहादुर वाईवा, उपप्रमुख विष्णुमणि नेपाल, बनेपाका प्रमुख शान्तिरत्न शाक्य, शंखरापुर नगरपालिकाका उपप्रमुख समिता श्रेष्ठ, चाँगुनारायणका प्रशासकीय प्रमुख शिवप्रसाद हुमागाईँ, नगरकोटका वडाध्यक्ष धनबहादुर लामा, पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङलगायतका अतिथिहरू स्टेजमै नाच्न थाले । त्यससँगै भीड बढ्दै गयो ।

‘बस्नेलाई पीर परेर, हुन सम्म भा छ 
जानेलाई नजाऊ भन्न नसकिने रछ
तिम्रो मयाले मलाई पीर दियो
तिम्रो मयाले मलाई पीर दियो’………

सो क्रममा बतासे डाँडा एक हजार भन्दा बढी पर्यटकले भरियो । नगरकोट भ्रमण वर्षको सुरुवाती तेस्रो दिनमा पनि बढ्दो पर्यटकको चाप र गायक गायिकाको उपस्थितिले थप रौनक बनाएको थियो ।

दर्शक दीर्घामा उभिएका हजारौँ आन्तरिक पर्यटकसँगै मिसिएका विदेशी पर्यटकहरू पनि प्रकाश सपुतको स्वर र सङ्गीतको तालमा ताल मिलाउँदै नाच्न थाले । उनको आफु नाच्ने,दर्शकलाई नचाउने र आकर्षित गर्ने शैली पृथक् देखिन्थ्यो ।

सिमसिम वर्षाको प्रवाह नगरी आन्तरिक तथा बाह्य पर्यटकले सपुतको स्वरमा स्वर मिलाउँदै नाच्न थालेपछि नगरको महोत्सवको रौनक निकै बढेको थियो । कुर्सीमा बसेकाहरू पनि उठेर नाच्न थालेका थिए । युवायुवती मात्रै होइन, नगरकोट घुम्न आएका प्रेमिल जोडी, परिवार, साथीसंगी, युवायुवती र बालबालिकासमेतले नाच्दा नगरकोट झुमेको थियो ।महोत्सव गीतसङ्गीतमय मात्रै बनेन, आएका पर्यटकहरू नाच्ने, गाउँने र झुम्नमै मस्त देखिन्थे ।

नगरकोटमा प्रकाश सपूतले सात वटा गाउँदा महोत्सव निकै तरङ्गित भयो ।

तीनदिने महोत्सवको समापन गर्दै चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले देश र नगरपालिका बनाउने अभियान पुरा गर्न ‘नगरकोट भ्रमण वर्ष–२०८२’ को आयोजना गरिएको बताउनुभयो ।

नयाँ वर्षको दिन वैशाख १ गते सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नु भएको भ्रमण वर्षमा दोस्रो दिन इन्द्रेणी सांस्कृतिक समूह र तेस्रो तथा महोत्सवको अन्तिम दिन प्रकाश सपूतको गायनले पर्यटकलाई मनोरञ्जन प्रदान गरेको वडा नं. ६ का वडाध्यक्ष धनबहादुर लामाले जानकारी दिनुभयो । वैशाख २ गते सोही स्थानमा इन्द्रेणी सांस्कृतिक समूहले भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो भने विविध साँस्कृतिक कार्यक्रमहरू पनि समावेश गरिएको थियो ।

‘नगरकोट भ्रमण वर्ष–२०८२’ को घोषणा गरेर चारवटा नगरपालिका चाँगुनारायण, मण्डनदेउपुर, बनेपा र शंखरापुर नगरपालिकाले संवृद्धि र बिकास तथा सबै नगरवासीको ओठमा हाँसो र खुसी ल्याउन भ्रमण वर्ष आयोजना गरेको हो । पर्यटन भ्रमण वर्षको एक वर्षभित्र चारवटै नगरपालिकाको कला, संस्कृति, सम्पदा, पहिचान, रीति रिवाज, कृषि, पर्यटनलगायतको संरक्षण, विकास र पहिचान बढाउने सफल हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button