गन्धर्व समुदायका महिलालाई सारङ्गी वादन तालिम
बाँके । परम्परागत पेशा लोप हुँदै जाँदा गन्धर्व समुदायका युवाहरू वैदेशिक रोजगारीतर्फ आकर्षित भइरहेका बेला कोहलपुर नगरपालिकाले गन्धर्व समुदायको संस्कृति संरक्षण तथा प्रवर्द्धनका लागि सारङ्गी वादन तालिम सुरु गरेको छ।

छ दिनसम्म सञ्चालन हुने उक्त तालिम मङ्गलवारदेखि सुरु भएको हो। कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक ईश्वरीप्रसाद विश्वकर्माले तालिमको उद्घाटन गर्दै गन्धर्व समुदायको लोपोन्मुख सांस्कृतिक पहिचानलाई बचाउन तालिम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– “घरदैलो र सडक प्रदर्शनमा सीमित रहेको यो कलालाई अब व्यावसायिक रूप दिन आवश्यक छ।”
पछिल्लो पुस्तामा परम्परागत पेशाप्रति आकर्षण घट्दै गएको र रोजगारीको खोजीमा विदेशिने प्रवृत्तिले गन्धर्व समुदायको मौलिकता सङ्कटमा परेको बेला, महिलाहरूलाई लक्षित गरी सुरु गरिएको यो तालिम महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

गन्धर्व विपन्न अल्पसङ्ख्यक संस्कृति संरक्षण विकास संघ, कोहलपुर–२ का अध्यक्ष सुशील कुमार बैगारका अनुसार महिलाहरूमार्फत कला हस्तान्तरण र संरक्षणले समुदायभित्रै स्वरोजगारको सम्भावना बढाउने छ। “यो तालिमले महिलाहरूलाई आत्मनिर्भर बनाउनेछ र उनीहरूको क्षमता उजागर गर्नेछ,” उहाँले भन्नुभयो।
तालिममा सहभागी अधिकांश महिलाहरू छन्, जसले पहिलो पटक सारङ्गी जस्तै परम्परागत वाद्य वादनमा सहभागी हुने अवसर पाएका छन्। प्रशिक्षकहरूले महिलाहरूलाई समेत सारङ्गी रेट्न सक्षम बनाउने उद्देश्यले तालिम सञ्चालन गरिरहेको जनाएका छन्।
परम्परागत संस्कृति र पहिचानलाई जगेर्ना गर्दै नयाँ पुस्तामा यसको महत्व रोप्न गरिएको यो प्रयास स्थानीय तहबाट भएको सकारात्मक र उदाहरणीय पहलका रूपमा स्वागत गरिएको छ।
प्रतिक्रिया राख्नुहोस्