दाउन्नेको अवस्था हेर्न पनि सडक मार्गबाटै आएँ : प्रचण्ड
नवलपरासी पश्चिम् । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बर्दघाट आइपुग्नुभएको छ । बर्दघाटको त्रिवेणी चोकमा स्थानीय जनप्रतिनिधि पार्टीका नेता तथा कार्यकर्ताहरूले प्रचण्डलाई स्वागत गरेका छन् ।

पार्टीको बर्दघाट नगर समितिको कार्यालयमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष प्रचण्डले दाउन्नेको अवस्था हेर्न पनि सडक मार्गबाटै आएको बताउनु भयो । ‘यो बाटोको विषयमा विभिन्न चर्चा परिचर्चा थिए, बाटो छिचोल्नै सकिँदैन दुम्किबासबाटै १०/१२ घण्टा लाग्न सक्छ भन्ने पनि थियो, भरतपुर नै फर्किएर भैरहवा हुँदै जानेकी भन्ने पनि थियो तर जति घण्टा लागे पनि दाउन्नेबाटै जानुपर्छ भन्ने लाग्यो’ उहाँले भन्नुभयो ।

पछिल्लो समय कामले गति लिएको बताउँदै अध्यक्ष प्रचण्डले स्थलगत अवलोकनपछि निर्माणको अवस्थाका बारेमा सदनमा बाटोका विषयमा बोल्ने बताउनुभयो । जति बाटोको विषयमा सुनिएको थियो तुलनात्मक रुपमा सहज तरिकाले आफूहरू आइपुगेको उहाँले बताउनुभयो ।
अध्यक्ष प्रचण्डसँगै माओवादी नेताहरू अग्नि सापकोटा, देव गुरुङ, कृष्ण बहादुर महरा लगायत सहभागी हुनुहुन्छ ।
जनतासँग माओवादी हुलाकी मार्ग केन्द्रित तराई-मधेश जागरण अभियान’ अन्तर्गत भोलि सदरमुकाम परासीमा हुने कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड नवलपरासी आइपुग्नुभएको हो ।
प्रतिक्रिया राख्नुहोस्